एक वर्ष भित्र सडकमा बालबालिका रहने स्थितिको अन्त्य गर्छौं : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्ष भित्र सडकमा बालबालिका रहने स्थितिको अन्त्य गर्ने बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय युवा दिवसको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले बालबालिका सडकमा हुनु नहुने बताए । उनले बालबालिकाहरू अभिभावकविहीन भएर सडकमा अलपत्र पर्ने अवस्थाको अन्त्य गर्ने बताए ।

उनले बालबालिकालाई सडकमा अलपत्र भएको हेर्न नसक्ने बताए । उनले उनीहरूको रेखदेख, सन्तुलित आहार दिने, स्याहारसम्भार गर्ने, उन्नतिप्रगतिका लागि उचित शिक्षा, स्वास्थ्यको प्रबन्ध गर्ने र अन्य अवसर पनि उपलब्ध गराउने कर्तव्य राज्यको भएको बताए ।

उनले भने ‘बालबालिकाको स्याहरसम्भार, अहिले यहाँहरूले याद गर्नुभयो होला । बालबालिका सडकमा हुनु हुँदैन । खाते भएर रहनु हुँदैन भनेर पहिला पनि मैले क्याम्पेन चलाएको थिएँ । सरकारमा आउने बित्तिकै मैले पहिलो दिन नै क्याबिनेटबाट घोषणा गरेको छु, की एक वर्ष भित्र हामी सडक बालबालिकाको स्थितिलाई अन्त्य गर्नेछौँ । हाम्रा छोराछोरी, हाम्रा बालबच्चाहरू अभिभावकविहीन भएर सडकमा अलपत्र पर्न मिल्दैन । सरकारले त्यसको जिम्मा लिनुपर्छ । त्यसकारण सरकारले त्यसको जिम्मा लिन्छ । बालबालिकालाई सडकमा अलपत्र भएको हामी हेर्न सक्दैनौँ । त्यसकारण तिनीहरूको रेखदेख, तिनीलाई सन्तुलित आहार दिने, तिनीहरूको स्याहारसम्भार गर्ने, तिनीहरूलाई स्नेह दिने, तिनीहरूको उन्नतिप्रगतिका लागि उचित शिक्षा, स्वास्थ्यको प्रबन्ध गर्ने र अन्य अवसर पनि उपलब्ध गराउने हो । शारीरिक, मानसिक अवसरहरू उपलब्ध गराउनु पर्छ । त्यो कुरामा हामी ध्यान दिन्छौँ ।’

प्रधानमन्त्री ओलीले वर्षमा ५ लाख रोजगारी आवश्यक पर्ने बताए । युवाहरूलाई उद्यमशीलतामा विकास गर्नुपर्ने जरुरी रहेको र सरकारले गहन रुपमा सोचिरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *