संशोधनमार्फत संविधानबाट दलित शब्द हटाउनुपर्छ : वामदेव गौतम

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले संशोधनमार्फत संविधानबाट दलित शब्द हटाउनुपर्ने बताएका छन् ।

बुधवार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरण लागि अनिवार्य सर्त रहेको सुशासन र यसको प्रवर्द्धन गर्न राष्ट्रिय सदाचार नीति जारी गर्ने सम्बन्धमा सरोकारवालाहरूसँगको छलफलका क्रममा सांसद गौतमले संविधानले नै दलित भनेको भन्दै संशोधनमार्फत हटाउनुपर्नेमा जोड दिए ।

उनले कसैले पनि भेदभाव गरे उनीहरूमाथि कारबाही हुनुपर्ने बताए । उनले सदाचार नीति विद्यालय, गैरसकारकारी संस्था, प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सभाका लागि पनि जारी गर्नुपर्ने बताए । उनले नेपाल र नेपाली जनतालाई साँच्चिकै माथि उठाउन र सांस्कृतिक रूपले उन्नत, सभ्य बनाउन चाहेको भए परिवारका लागि पनि सदाचार नीति जारी गर्नुपर्ने बताए ।

उनले भने ‘हाम्रो संविधानले नै दलित भनेर भनेको छ । मेरो मान्यता दलित भन्न हुन्थ्यो । संशोधन गरेर हटाइदिनुपर्छ । कसैले पनि भेदभाव गरे भने उनीहरूमाथि कारबाही हुनुपर्छ । कसैले पनि त्यस्तो किसिमको व्यवहार गरे भने दलित सम्बन्धी आज भन्दा अघि जे गर्दथे । त्यस्तो गरे भने जसले गरेको छ, उसमाथि कारबाही हुनुपर्छ । यस्तो सबै किटान गर्नुपर्छ र सदाचार नीति, स्कुल, गैरसकारकारी संस्था, प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सभा, के हो सदाचार नीति त्यो जारी गर्नुपर्छ । सँगै परिवारको निम्ति पनि जारी गर्नुपर्छ । यदि हामीले नेपाल र नेपाली जनतालाई नै माथि उठाउन चाहेको हो, सांस्कृतिक रूपले उन्नत, सभ्य बनाउन चाहेको हो भने परिवारलाई पनि जारी गर्नुपर्छ । हरेक परिवारले परिवारभित्र गर्न नहुने र गर्नुपर्ने के हो त्यो नीति पनि जारी गर्नुपर्छ र त्यसो नगरे तदनुरुपको कारबाही हुनुपर्छ । यी सबै विषय सँगै लैजानुपर्छ ।’

सांसद गौतमले सदाचार नीतिअनुसार नचल्नेलाई कारबाही गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *