स्वास्थ्य बीमा सबैलाई ५ लाख दिने भनेका होइनौँ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमालाई व्यवस्थित गर्न सकिएको अवस्थामा मात्रै स्वास्थ्य सुविधा सहज र सरल बन्नसक्ने बताएका छन ।

स्वास्थ्यमन्त्री पौडेलले बुधवार कान्ति बाल अस्पतालको मानसिक रोगको अन्तरंग सेवाको शुभारम्भ कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले स्वास्थ्य बीमामा राज्यका विभिन्न निकायहरूले दिएका स्वास्थ्य बीमा सम्बन्धी सुविधाहरूलाई स्वास्थ्य बीमासँग एकीकृत प्रणालीमा ल्याउन जरुरी रहेको बताए ।

उनले सरकारले स्वास्थ्य बीमालाई थप व्यवस्थित गर्नसके मात्रै स्वास्थ्य सुविधाहरूलाई सहज,सरल र प्रभावकारी बनाउन सकिने बताए । उनले सरकारले युनिभर्सल कभरेजको रुपमा स्वास्थ्य बीमाको व्यवस्था गर्न खोजेका बताए । उनले स्वास्थ्य मन्त्रालयले स्वास्थ्य बीमाका लागि गरेको प्रस्तावमा व्यापक टीकाटिप्पणी भइरहेको भन्दै मन्त्रालयले सबैलाई स्वास्थ्य बीमा ५ लाख दिने नभनेको स्पष्ट पारे ।

स्वास्थ्यमन्त्री पौडेलले सरकारले बनाएको ८ वटा नसर्ने रोगहरूको सूचीअनुसार नसर्ने क्रोनिक रोग लागेका बिरामीहरूलाई कम्तीमा ५ लाख दिने प्रस्ताव गरिएको बताए । उनले सामान्य रोग भएका बिरामीलाई १ लाखमा नै स्वास्थ्य उपचार गरिने बताए । उनले सरकारले एक लाख रुपैयाँ दिने भनेर बनाएका रोगहरूको सुविधा पनि बीमामा ल्याएर जोड्नुपर्ने बताए । विपन्न, आमा सुरक्षा कार्यक्रमलाई पनि स्वास्थ्य बीमासँग जोड्नुपर्ने बताए ।

उनले भने ‘ स्वास्थ्य मन्त्रालयले स्वास्थ्य बीमाका लागि गरेको प्रस्तावमा व्यापक टीकाटिप्पणी भइरहेको छ । सकारात्मक र नकारात्मक पनि भएको छ । एक लाख दिन नसक्नेले ५ लाख दिन्छु भन्यो भन्दै टिप्पणीहरू आइरहेको अवस्था छ । स्वास्थ्य मन्त्रालयले सबैलाई ५ लाख दिने भनेको होइन । सरकारले बनाएको ८ वटा नसर्ने रोगहरूको सूची छ । बढेर जानसक्छ । नसर्ने क्रोनिक रोग लागेका बिरामीहरूलाई कम्तीमा ५ लाख दिनुपर्छ भनिएको हो । सामान्य रोग भएका बिरामीलाई १ लाखमा नै गर्नुपर्छ भनेको हो । सबै एकीकृत प्रणालीबाट बीमा प्रणालीको विकास गर्नुपर्छ । एक लाख रुपैयाँ दिने भनेर सरकारले रोगहरूको सूची बनाएको छ । त्यो सुविधा पनि बीमामा ल्याएर जोड्नुपर्छ । ’

उनले राज्यले सुर्तीजन्य र मदिराजन्य पदार्थमा लिएको करको आधा हिस्सा स्वास्थ्य बीमालाई दिनुपर्नेमा जोड दिए । उनले प्रदेश र स्थानीय तहले स्वास्थ्य सेवा दिने खर्च, सञ्चय कोषबाट दिने बीमा र सामाजिक सुरक्षा कोषबाट दिने स्वास्थ्य बीमा लगायत सबैलाई स्वास्थ्य बीमामा ल्याएर जोड्नसके वार्षिक स्वास्थ्य बीमामा लाग्ने ९ अर्ब ४५ अर्बको हाराहारीमा पुग्नसक्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *