दुई दलीय शासन व्यवस्था नेपाली जनतालाई स्वीकार्य छैन : माधव नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले दुई दलीय व्यवस्था नेपाली जनताकालागि स्वीकार्य नहुने बताएका छन् ।
बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष नेपालले दुई दलीय व्यवस्था नेपाली जनताका लागि स्वीकार्य नहुने बताएका हुन् ।
उनले संविधान संशोधनमार्फत देशमा दुई दलीय व्यवस्था ल्याउन खोजिएको भन्दै दुई दलीय शासनको कुराले देशलाई नोक्सान पुर्याउने बताए । दुई दलीय शासन व्यवस्था कसैले नसहने उनको भनाई छ । उनले बंगलादेशको घटनाले सबैलाई सचेत बनाएको भन्दै कुनै किसिमको तानाशाही नेपालमा चल्न नसक्ने बताए ।
उनले नेपाली जनतालाई प्रतिगमन र अधिनायकवाद स्वीकार्य नभएको स्पष्ट पारे ।
उनले भने ‘प्रधानमन्त्रीले के कुरा ल्याउनुभयो भनेदेखि अहिले त हामीले संविधान संशोधन गर्न खोजिरहेका छौँ । क्या मिठा कुरा छ । अनि मध्यरातमा हस्ताक्षर गर्ने हो ? दुई दलीय शासन ल्याउन खोजेको हो ? दुई दलीय शासन नेपालमा आउन सक्दैन । हामी आउन दिँदैनौँ । बहुदलीय व्यवस्था हामीले ल्याएका हौँ । बहुदलीय व्यवस्था यहाँ रहन्छ । बहुदलीय लोकतन्त्र, गणतन्त्रलाई, संघीय लोकतन्त्रलाई, हामी अझै समृद्ध बनाउन चाहन्छौँ ।’
अध्यक्ष नेपालले नेपाललाई शान्ति प्रक्रियामा ल्याउन आफूले महत्वपूर्ण भुमिका खेलेको भन्दै त्यसको चर्चा समेत गरे । उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने नाममा प्रमुख तीन राजनीतिक दलहरूले मात्रै चोचोमोचो नमिलाउन आग्रह गरे ।