माओवादी विद्रोहलाई कुनै हालतमा पनि जनयुद्ध भन्न सकिँदैन : चित्रबहादुर केसी
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले माओवादी सशस्त्र युद्धलाई जनयुद्ध भन्न नसकिने अडान दोहोर्याएका छन् ।
बुधवार प्रतिनिधि सभा बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सो युद्धलाई जनयुद्ध नभनेको भन्दै प्रधानमन्त्री ओलीमाथि असन्तुष्टि व्यक्त गरे ।
सोही विषयमा टिप्पणी गर्दै अध्यक्ष केसीले सो सशस्त्र युद्ध उग्रवामपन्थी भडकाव भएकाले त्यसलाई जनयुद्ध भन्न नसकिने जिकिर गरे ।
‘टिआरसी विधेयकमा जुन सहमती भएको छ । त्यसप्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ । माओवादीको नेतृत्वमा भएको सशस्त्र कारबाहीलाई हामीले कहिल्यै पनि जनयुद्ध मानेका थिएनौं,’उनले भने,‘त्यसलाई उग्रबामपन्थी भडकाव नै भएको घोषित गरेका थियौं । किनभने त्यो सशस्त्र कारबाही माक्र्सवादी, लेनिनवादी सिद्धान्त र परिस्थितिको ठोस विश्लेषणमाथि आधारित थिएन । त्यसैले त्यसको परिणाम दक्षिणपन्थी भडकाव हुनु अवश्यंभावी थियो ।’
उनले तत्कालीन प्रधानमन्त्री दाहालप्रति संकेत गर्दै त्यो जनयुद्ध भएको भए सत्ताका लागि मरिहत्ते गथ्र्यो भनि प्रश्न समेत गरे ।
पछिल्लो २० महिनामा पदको लागि २ चोटी बालकोट, २ पटक बुढानिलकण्ठ पुग्ने काम जनयुद्धको परिणाम नभएको अध्यक्ष केसीको भनाई थियो ।
उनले सशस्त्र द्वन्द्वको क्रममा राज्यपक्ष र तत्कालीन विद्रोह माओवादी पक्षबाट युद्ध अपराधमा सामेल सबैलाई कारबाहीको दायरामा ल्याउन पनि सरकारसँग माग गरे ।
उले भने–‘२० महिनामा पदको लागि २ चोटी बालकोट, २ पटक बुढानिलकण्ठ । यो जनयुद्ध थियो ? अरुअरु देशमा जनयुद्ध हुँदाखेरी यस्तै हुन्छ ? जनयुद्ध सकिएपछि ? त्यो सशष्त्र द्वन्द्वको क्रममा एकातिर माओवादी र अर्कातिर सत्तापक्ष दुवैतिरबाट निर्दोष जनतामाथि भएका हिंसात्मक कारबाही मानव अधिकारको हनन, महिलामाथिको यौन उत्पीडन वा अपराधजन्य अन्य विभिन्न कारबाहीहरुको हाम्रो पार्टीले शुरु देखिनै विरोध गर्दै आएको थियो ।’
अध्यक्ष केसीले युद्ध अपराधमा संलग्नहरुलाई उन्मुक्ति दिने काम गरेकाले संक्रमणकालीन न्याय निरुपणको काममा ढिलाई हुन पुगेको पनि दोहोर्याए ।