सांसदहरूको टिप्पणी- नेपालको शान्ति प्रक्रियाको काम विश्वमै उच्चकोटी छ
काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका सांसद डा.चन्द्रकान्त भण्डारीले नेपालको शान्ति प्रक्रियाको काम विश्वमै उच्चकोटीको रहेको टिप्पणी गरेका छन् ।
बुधवार प्रतिनिधि सभाबाट टिआरसी (संक्रमणकालीन न्याय सम्बन्धी) विधेयक पारित गरेलगत्तै उनले सञ्चारकर्मीसँग सो प्रतिक्रिया दिएका हुन् ।
सांसद भण्डारीले सो विधेयक विश्वकै शान्ति प्रक्रियाका लागि अघि बढाउने उच्च स्तरको अनुकरणीय दस्ताबेजको रुपमा आएको दाबी समेत गरे । नेपालको शान्ति प्रक्रियालाई अघि बढाउनका लागि नेताहरूले लिएको सुझबुझपूर्ण निर्णयप्रति आफूले खुलेर प्रशंसा गर्ने गरेको पनि उनको भनाई थियो । सांसद भण्डारीले नेपालले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउनका लागि गरेको प्रयास विश्वकै नमुनायोग्य रहेको पनि बताए ।
उनले भने ‘नेपालको शान्ति प्रक्रिया र त्यो समयमा हाम्रो नेताहरूले गरेको सुझबुझपूर्ण जो दुई वटा कुरा छ । यो विश्वको अनुकरणीय र अत्यन्त उच्चस्तरको हो । यो शान्ति प्रक्रियाको काम अत्यन्तै उच्च कोटीको छ । म यसलाई मेरो दिलले खुलेर प्रशंसा गर्दछु ।’
यता, प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले शान्ति प्रक्रियाको बाँकी तार्किक निष्कर्षमा पुग्ने गरी सो सम्बन्धी विधेयक आएको दाबी गरे । उनले विज्ञहरूको सुझावसहित आएको सो विधेयक आफैँमा महत्वपूर्ण र ऐतिहासिक भएको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा दलहरूले जोड दिनुपर्ने पनि बताए । प्रमुख सचेतक परियारले सो विधेयकमा उल्लेखित विषयवस्तुलाई कार्यान्वयनमा लैजाने कुरामा केन्द्रित हुनुपर्ने आवश्यकता पनि औँल्याए ।
उनले भने ‘संक्रमणकालीन न्याय सम्बन्धी आज जुन विधेयक आएको छ । यो विधेयक आफैँमा महत्वपूर्ण र ऐतिहासिक विधेयक हो । यो निकै अगाडि आउनुपर्दथ्यो भन्ने हाम्रो पार्टीको चाहना हो । यो लामो समयसम्म आउन सकेन । र आज जे भएको छ । यो हामीले धेरै लामो समयदेखिको अनुभव, कानूनविद्हरुसँगको सल्लाह, माननीय सदस्यहरूसँगको निरन्तर छलफलले गर्दा तुलनात्मक रुपमा सबैभन्दा राम्रो एउटा संक्रमणकालीन न्याय सम्बन्धी यो विधेयक आएको छ । यसले शान्ति प्रक्रियामा बाँकी रहेका काम अगाडि बढाउँछ भन्ने विश्वास लिएका छौं ।’
प्रमुख सचेतक परियारले विधेयकमा लामो समयदेखि अनुभव समेत समेटिएकाले पीडितले न्याय पाउने कुरामा पनि शंका गर्न आवश्यक नरहेको जिकिर गरे ।