नेशनल लाईफको ब्रान्च मेनेजर्स एनुअल कन्फरेन्स ‘शेपिङ द फ्यूचर’ सम्पन्न
काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले ‘शेपिङ द फ्यूचर’ भन्ने नाराका साथ ४ दिने ब्रान्च मेनेजर्स एनुअल कन्फरेन्स चितवन स्थित होटल सोल्टी वेस्टेण्डमा सम्पन्न गरेको छ ।
कम्पनीका अध्यक्ष श्रीमती प्रेमा राज्य लक्ष्मी सिंहको सभापतित्वमा आयोजना गरिएको सो सम्मेलनको पानसमा द्विप प्रज्वलन गरी समुद्घाटन गरिएको थियो । उनले आ.व. २०८०/८१ मा कम्पनीले प्रथम बीमाशुल्क सहित समग्र सूचांकमा उत्कृष्टता हासिल गर्न सफल हुनुमा कम्पनीका बीमितवर्गहरु अभिकर्तावर्गहरु व्यवस्थापन र कर्मचारीहरूको अथक मेहनत, परिश्रम र लगनशीलताको कारणले नै सम्भव भएको बताइन् । उनले यस सफलताका लागि योगदान गर्ने सम्पूर्णलाई बधाई ज्ञापन गरिन् ।
साथै उनले आ.व. २०८०/८१ मा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पुरा गर्ने शाखाहरू लगायत सबैभन्दा बढी प्रिमियम सङ्कलन गर्ने शाखाहरू र उत्कृष्ट ठहरिएका ५ शाखाहरूलाई सम्मान तथा पुरस्कृत गरेकी थिइन् ।
जीवन बीमा व्यवसाय संग सम्बन्धित विभिन्न पाटोहरू र जीवन बीमा कम्पनीका चुनौतीहरूको विवेचनागरी आर्थिक वर्ष २०८१/८२ को लागि लक्ष्य निर्धारण गर्ने उद्देश्यले आयोजना गरिएको सम्मेलनमा विभागीय प्रमुख तथा देशै भरीबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरू गरी २०० जना भन्दा बढिको सहभागिता रहेको थियो ।
सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कम्पनीको व्यवसाय वृद्धि गर्नुपर्ने दायित्व र चुनौतीलाई आत्मसाथ गर्दै आपसी समन्वय गरी अगाडी बढेको कारणले नै कम्पनीको उच्च बोनस दरलाई यथावत राख्न सकिएको बताए । उनले प्रथम बीमाशुल्क ५०० करोड भन्दा बढी सङ्कलन गर्न सफल भएको तथा अन्य सबै सुचांकहरुमा पनि सकारात्मक वृद्धि गर्न संभव हुनुमा आ–आफ्नो क्षेत्रबाट योगदान दिने सम्पूर्ण बीमित वर्गहरू अभिकर्ता वर्गहरू र कर्मचारीहरू, बधाईको पात्र रहेको बताए ।
साथै आगामी आर्थिक वर्षमा पनि यो सफलतालाई निरन्तरता दिनुपर्ने चुनौती थपिएकोले उक्त चुनौती पुरा गर्न यस सम्मेलन लाभदायक रहने विश्वास व्यक्त गरे ।
यसैगरी, नियमनकारी निकाय श्री नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक श्रीमती सविता थापाले सम्पत्ति शुद्धीकरण सम्बन्धमा प्रशिक्षण दिँदै बीमालाई माध्यम बनाएर विभिन्न बहानामा सम्पत्ति शुद्धीकरण गर्न सक्ने भएकोले सो तर्फ सचेत रहन आग्रह गर्दै राष्ट्रिय हितका लागि आतंकवादि वित्तीय लगानी रोक्नु हामी सबैको कर्तव्य भएको बत्ताइन् । साथै सो समारोहमा मोटिभेसनल ट्रेनर सुदिप बस्नेतले सहभागी कर्मचारीहरूलाई तालिम प्रदान गरेको थियो ।
यसै गरी आर्ट अफ लिभिङका नेपालका वरिष्ठ प्रशिक्षक अच्यूत गौतम र शैलेन्द्र हमालले सम्पूर्ण कर्मचारीहरूलाई तनाव व्यवस्थापन सम्बन्धमा प्रशिक्षण प्रदान गरेका थिए ।