आइप्यानको शैक्षिक मेलाबाट तीन हजारलाई परामर्श (भिडिओ)
काठमाडौं । इन्टरनेशनल एजुकेसन प्रोभाइडर्स एसोसियसन नेपाल (आइप्यान)को आयोजनामा एक दिने ‘शैक्षिक मेला’ कार्यक्रम सम्पन्न भएको छ ।
बिहिबार काठमाडौंमा भएको ‘शैक्षिक मेला’मा २५ विद्यालयका विद्यार्थीले सहभागिता जनाएका थिए । शैक्षिक मेलामा तीन हजार बढी विद्यार्थीले परामर्श र सेवा लिएका छन् ।
‘नेपालमै बसौँ, नेपालमै पढौँ’ भन्ने मुल नाराका साथ आयोजना गरिएको कार्यक्रममा विद्यार्थीले नेपालमै आर्जन गरिने शिक्षाबारे जानकारी लिएका छन् ।
नेपाली विद्यार्थीले पढाइ र रोजगारीका लागि अन्य देशमा भौतारिनु नपरोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आइप्यानले जनाएको छ ।
आइप्यानका अध्यक्ष लक्ष्मण केसीले विद्यार्थीलाई गुणस्तरीय शिक्षा र अध्ययनपछिको भविष्यबारे जानकारी दिने उद्देश्यले शैक्षिक मेला आयोजना गरिएको बताए । उनले शैक्षिक मेलाबाट विद्यार्थीहरूले अन्तर्राष्ट्रिय शिक्षाबारे जानकारी लिएका बताए ।
उनले शिक्षाको गुणस्तर बढाउँदै विद्यार्थीलाई नेपालमै बस्ने वातावरण र देशमै रोजगारीको व्यवस्था गर्न काम गरिरहेको बताए ।
‘एजुकेशन फिअर’ जस्ता कार्यक्रमले विद्यार्थीलाई शिक्षाबारे सही जानकारी दिनेकाम गरेका छौं । नेपालका विद्यार्थी देशमै पढ्नपर्छ र देशमै रोजगारी पाउनुपर्छ भनेर लामो समयदेखि काम गरिरहेका छौं,’उनले भने,‘आजको कार्यक्रमले धेरै फाइदा भएको छ ।’
उनले नेपाली विद्यार्थीलाई गुणस्तरिय शिक्षा दिँदै विदेशीलाई पनि नेपालमा पढ्न आउने वातावरण बनाउनुपर्ने बताए । त्यसका लागि आइप्यानले लामो समयदेखि काम गरिरहेको भन्दै उनले सरकारले सहजीकरण गर्नुपर्ने बताए ।
नेपालमै बसेर विदेशी डिग्री लिन चाहने विद्यार्थीलाई लक्षित गरेर कार्यक्रमको आयोजना गरिएको हो । कक्षा १२ पछिको शैक्षिक भविष्यलाई कसरी अघि बढाउने भनेर सोचिरहेका विद्यार्थीलाई यो शैक्षिक मेला लाभदायक भएको छ ।
शैक्षिक मेलामा सहभागी राधा कुमारी महत्वले कार्यक्रमको बारे पहिले नै थाहा भएको र आफ्नो अरु साथीहरूलाई उक्त कार्यक्रममा सहभागी हुन बोलाएको बताइन् ।
कार्यक्रम प्रभावकारी रहेको र धेरै स्टलहरूबाट डिग्रीहरूको बारे बुझ्न पाएको उनले बताइन् । उनले धेरै विद्यालयहरूको पढाई बारे जानकारी पाएको र छात्रबृत्ति पनि पाउने बारे थाहा पाएको सुनाइन् ।
आइप्यान विदेशी सम्बन्धनप्राप्त कलेजहरूको छाता संगठन हो । आइप्यानमा आबद्ध कलेजहरूले विश्वका विभिन्न विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपालमै विदेशी डिग्री उपलब्ध गराउँदै आइरहेका छन् ।