साफ च्याम्पियनसिप : मैदानको टुङ्गो अझै लागेन, अन्य तयारी पूरा
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेल्ने मैदानको अभावकै बीच साफ यु–२० च्याम्पियनसिपको तयारी पूरा भएको जनाएको छ ।
आगामी भदौ २ गतेदेखि नेपालमा हुने च्याम्पियनसिपमा ६ राष्ट्रले चुनौती प्रस्तुत गर्दैछन् । तर बिहीबार एन्फाले पत्रकार सम्मेलन गर्दै आफ्नो तयारी पूरा भएको जनाए पनि मैदानबारे भने अहिलेसम्म अन्यौलता प्रकट गरेको छ ।
नेपालले उद्घाटन खेलमा आइतबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । तर मैदानको अवस्था नाजुक भएकाले उद्घाटन खेल पनि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सार्न सक्ने सम्भावना बढेको छ । म्याच कमिसनरले मैदान हेरेपछि मात्र च्याम्पियनसिप कहाँ गर्नेबारे टुङ्गो लाग्ने एन्फाका प्रवक्ता सुरेश शाहले बताए ।
समूह ‘ए’ मा आयोजक नेपालसहित बंगलादेश र श्रीलंका छन् । अर्को समूहमा साविक विजेता भारत, मालदिभ्स र भुटान छन् । नेपाली यु–२० टोलीले उज्जन श्रेष्ठको प्रशिक्षणमा तयारी गरिरहेको छ । एन्फाले सहभागी टोलीका लागि लगनखेलस्थित आर्मीको फुटबल मैदान, च्यासल र एन्फा कम्प्लेक्सलाई ट्रेनिङ मैदानको विकल्पका रूपमा तयारी भइरहेको बताएको छ ।
एन्फाका उपाध्यक्ष दीपक खतिवडाले फुटबलको रंगशाला अभाव भइरहँदा फिफा र एएफसीबाट रंगशाला निर्माणमा सहयोग हुने पत्र आइसकेको उल्लेख गरे । त्यसैले एन्फाले जग्गा खोजिरहेको बताए । सरकारले नै जग्गा दिए आफूहरू रंगशाला बनाउन तयार रहेको बताए ।
मैदान तय भएपछि सातदोबाटोको एन्फा कम्प्लेक्सको लागि टिकट मूल्य निर्धारण गरिने भएको छ । सातदोबाटोमै खेल भए सामान्यतर्फmको मात्र टिकट बिक्री हुने भएको छ । दशरथ रंगशालामा नै खेल भए सामान्यतर्फ दुई सय र भिआइपीतर्फ पाँच सय मूल्य तोकिएको छ । यस च्याम्पियनसिपमा आयोजक नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भुटान र मालदिभ्सले प्रतिस्पर्धा गर्दैछन् ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सार्वजनिक गरेको खेलतालिकाअनुसार समूहचरणका ६ खेलसहित सेमिफाइनलका दुई र फाइनल खेल दशरथ रंगशलाको मैदानमै हुने तय छ ।