संसदीय सुनुवाइमा न्यौपाने र सिद्धान्त समितिको सभापतिमा गैरे निर्वाचित

काठमाडौँ । संघीय संसदका दुई वटा समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिनिधि र राष्ट्रिय सभा अन्तर्गतका संयुक्त संसदीय सुनुवाइ समितिको सभापतिमा नेपाली काँग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरे निर्विरोध निर्वाचित भएका हुन् ।

निर्वाचित दुवै सभापतिहरूलाई सभामुख देवराज घिमिरेले शपथग्रहण गराए । दुवै समितिको सभापतिका लागि एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन् ।

शपथ ग्रहणपछि सञ्चारकर्मीहरूसँग बोल्दै राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापति ठाकुरप्रसाद गैरेले नेपालको राज्य सञ्चालनको प्रक्रियामा राज्यका समग्र मन्त्रालयहरू र अन्य निकायहरूबाट राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको अनुरूप भएरनभएको अनुगमन गरी समितिले निर्वाह गर्नुपर्ने भूमिकामा काम गर्ने बताए ।

उनले संविधानले निर्दिष्ट गरेका लक्ष्य र उद्देश्यहरू पूरा गर्नेगरी समितिले काम गर्ने प्रतिबद्धता जनाए ।

संसदीय सुनुवाइ समिति सभापति ईश्वरीदेवी न्यौपाने संसदीय सुनुवाइ समिति कसैलाई निर्दोष ठहर गर्नको लागि नबनेको बताए । उनले राज्यको निकायहरूबाट सिफारिस भई आएका व्यक्तिहरूको विषयमा जनताको राय लिने काम समितिको भएको बताए ।

उनले संविधानमा भएको व्यवस्था अनुरूप काम गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *