फिल्म समीक्षा

कर्णालीका महिलाको पीडा बोल्ने बुलाकी

काठमाडौं । ‘बुलाकी’ लक्ष्मण सुनारद्वारा निर्देशित कर्णाली भेगका आम महिलाहरूको व्यथालाई प्रस्तुत गरेको सामाजिक यथार्थवादी फिल्म हो । यो फिल्म यसअघि पनि गत वर्षको वैशाखमा अन्य दुई फिल्म ‘जारी’ र ‘बिहे पास’ संग एकसाथ प्रदर्शन गरिएको थियो ।

यस बिच देश-विदेशका विभिन्न महोत्सवमा सहभागी यस फिल्मलाई लिएर दर्शकले विशेष चासो देखाएको भन्दै निर्माताहरूले फिल्म ‘बुलाकी’ लाई पुनः प्रदर्शन गरेका हुन् । यस फिल्ममा कथावस्तुलाई गति दिने र फलागमसम्म पुर्‍याउने हिरा, चन्द्रे, रत्ने आदि पात्रहरूको महत्वपूर्ण भुमिका रहेको छ ।

हिरा :
हिरा यस फिल्मको प्रमुख महिला पात्र वा नायिका हुन् । उनी गुनिऊ, चोलो लगाउँछिन् । दाउराको भारी थाप्लामा बोक्छिन् । उनी एक विवाहित पात्र । उनले चन्द्रेसँग विवाह गरेको ३ वर्ष भइसक्दा पनि उनी आमा बन्न सक्दिनन् । यस कुरामा चन्द्रे र उनका आमाले हिरालाई नै दोषी मान्दछन् । उक्त कुराले हिराको असाध्यै चित्त दुख्छ । सहनशील र अन्तरमुखी स्वभावकी छिन् । त्यसैकारणले उनले दिनहुँ सासूको कचकच सुनिरहनु पर्छ । फिल्ममा एकपटक पनि उनले सासूलाई चर्को आवाजमा जवाफ फर्काएको देखिँदैन ।

चन्द्रे परदेश जाँदा हिरालाई अर्को वर्ष जसरी पनि सन्तान जन्माउन भनेर गएको हुन्छ । यस कुराले उनी साह्रै चिन्तित बन्दछिन् । उनी चन्द्रेलाई असाध्यै माया गर्छिन् । तर चन्द्रेको बाउ बन्ने सपना पुरा गर्न नसक्ने र सासूको चित्त बुझाउन नसकेपछि उनी परदेशिएका चन्द्रेलाई अझै पर्खिन सक्दिनन् ।

उनी छाउगोठमा हुँदा सासूले एकचोटि पनि हेर्न आउँदिनन् । त्यसक्रममा उनी असाध्यै बिरामी पर्छिन् । उनी बिरामी भएको थाहा पाएपछि उनकी नन्दले स्वास्थ्य चौकीका कर्मचारी रत्नेलाई बोलाएर औषधि खुवाउँछन् । पछि गाउँलेहरूले उनै रत्नेसँग हिरालाई बात लगाउँछन् । उनमा गायन कला पनि छ । फिल्ममा उनलाई धेरै पटक देउडा गाएको सुन्न सकिन्छ । उनको उही गायन कलाबाट फिल्मका रत्ने पनि उनी प्रति आकर्षित भएको देखिन्छ । यसरी गाउँ, समाज, परिवार, चन्द्रे र नियतिले ठडिएकी हिरा माया, साथ र सम्मान पाउने आसले रत्नेसँग भाग्दछे ।

चन्द्रे:
‘चन्द्रे’ यस फिल्मका नायक हुन् । उनी हिराका लोग्ने । उनले हिरालाई विवाह अगाडि आफ्ना पुख्र्याैली नासो ‘बुलाकी’ दिएका हुन्छन् । उनी परदेश जाँदा पनि हिरालाई आफ्नो अवस्थाको वर्णन गर्दै पत्र पठाइरहन्छ । यसबाट उनले हिरालाई कति माया गर्छन् भनेर सजिलै अनुमान लगाउन सकिन्छ । उनले हिरालाई गर्ने मायामा कुनै खोट देखिँदैन । तर सन्तानको मामिलामा भने उनी कमजोर पर्दछन् । आमाले सन्तान जन्माउन नसेको भनेर हिरालाई गाली गर्दा समेत उनले केही बेल्न सक्दैनन् । त्यसैले उनकी पत्नी हिरा रत्नेसँग पोइल गएकी छ । यसरी चन्द्रे सबै पक्षबाट राम्रो हुँदा हुँदै पनि उनले आफ्नो जीवनको सबैभन्दा अमूल्य हिरालाई गुमाउनु परेको छ ।

रत्ने :
‘रत्ने’ सानैमा आमा-बुवा बित्नुभएपछि दाजु-भाउजूको सहारामा हुर्किएको पात्र हो । उनी परदेश जानु भन्दा आफ्नै गाउँमा केही गर्न वेश ठान्दछन् । त्यसैले उनी गाउँकै स्वास्थ्य चौकीमा काम गरेका छन् । उनको त्यही सोचकाबाट फिल्मकी नायिका हिरा उनी प्रति आकर्षित भएकी छे ।

हिरा र चन्द्रेले सुरु गरेको फिल्मलाई चन्द्रेले नै अघि बढाउने काम गरेका छन् । उनले हिरालाई अर्काकी जोई हो भन्ने जानेर पनि भगाउँछ । त्यसपछि सुरु हुन्छ, हिरा र रत्नेको प्रेम कहानी, हिरा र चन्द्रेको बिछोडको कहानी अनि चन्द्रे र रत्नेको द्वन्द्वको कहानी । अनि सँगै सुरु हुन्छ कथाको मूल विषयवस्तु अर्थात् ‘जारी प्रथा’ ।

जारी प्रथा
अर्काको स्वास्नी भगाए बापत सजाएको रुपमा स्वास्नीको ससुरालवालाले भनेजति जायजेथा र रकम दिएर सबैका अगाडि उनीहरूलाई क्षमा माग्ने प्रचलन जारी प्रथा हो । यसपछि भने स्वास्नीको पहिलो श्रीमानसँग कुनै सम्बन्ध नरहने कुरा फिल्ममा देख्न सकिन्छ ।

परदेशबाट आएपछि चन्द्रेले हिरा पोइल गएको कुरा विश्वास गर्न सक्दैनन् । उनको जलेको घाउमा गाउँलेहरूले झनै घिउ थपिदिएका छन् । धरै दिनसम्म पनि उनको रिस मरेको हुँदैन । त्यसैक्रममा चन्द्रेले बजारमा रत्नेलाई भेट्छ र उही मुक्का हिर्काउँछ । हुँदा हुँदै चन्द्रेले बजारमा रत्नेको दाइलाई समेत हान्छ र पुरै परिवार सखाप पार्ने धम्की दिन्छ । त्यसपछि रत्नेको दाइले छिट्टै जारी तिर्ने निधो गर्दछन् ।

फिल्ममा अर्काको स्वास्नी भगाएपछि जारी नतिर्दासम्म कतिसम्म दुख पाइन्छ भन्नेकुरालाई देखाएको छ । फिल्ममा जारी प्रथाले महिलाहरूलाई बजारमा बेच्न राखेको वस्तुभाउ जस्तो किनबेच गरेको कुरा प्रस्टै देखाएको छ । जारी प्रथाले नै गर्दा रत्नेको घरबार समेत दाउमा परेको छ । बिचरी हिराले आफ्ना सबै गरगहना झिकेर जारीमा दिन्छिन् । जारी प्रथाले गर्दा उनको आउँदो भविष्य पनि अँध्यारो हुने अनुमान लगाउन सकिन्छ । यसरी फिल्मले जारी प्रथाको नाममा हुने महिलाहरूमाथि हुने गरेको लेखाजोखालाई पर्दामा उतारेको छ ।

मूलभावः
फिल्ममा लेखकले मुख्य पात्र हिराका माध्यमबाट कर्णाली क्षेत्र साथै समग्र देशका महिलाहरूको प्रतिनिधित्व गरि उनीहरूको हक अधिकारका लागि अप्रत्यक्ष रुपमा वकालत गरेको पाइन्छ । फिल्मले एउटा असल बुहारी कहलिनका लागि महिलाहरू कतिसम्म आफूलाई दबाउन बाध्य छन् भनेर देखाएको छ । उनीहरू खुलेर गाउन चाहन्छन् तर उनीहरूको आवाजलाई समाज र सासूआमाको डरले रोकिदिएको छ । उनीहरू भित्रपनि धेरै व्यथा र गुनासाहरू छन् । तर पोख्ने ठाउँ नहुँदा उनीहरू फिल्ममा जस्तै एकान्तमा देउडा गाउँछन् र कसैले त रत्ने जस्ता मानिसहरूको सहारा लिन बाध्य बन्छन् । फिल्मले दोस्रो विवाह गर्ने महिलाहरू गलत नहुन पनि सक्छन् भन्ने बिचार प्रस्तुत गरिदिएको छ ।

रत्नेसँग भागेकी हिराको जीवन दशामा त्यसपछि पनि कुनै परिवर्तन आएको देखिँदैन । उनले रत्नेको घरमा पनि उही घाँस, दाउरा र चुलो चौको गर्नुपरेको छ । उनले त्यहाँ पनि चाहेको जस्तो सम्मान र माया पाएकी छैनन् । यस घटनाका माध्यमबाट लेखकले जुनै घरमा पनि महिलाहरूको स्थान चुलोचैकोमा मात्र हुने कुरा देखाएको छ । फिल्मको एकमात्र उद्देश्य भाव भनेकै महिलाहरूको जीवनको स्वेच्छा र स्वतन्त्रताको वकालत गर्नु हो ।

शीर्षक सार्थकता
फिल्मको नाम ‘बुलाकी’ उपयुक्त नै देखिन्छ । किनभने नायिका हिराले सबै जायजेथा गुमाउँदा उनलाई कुनै शोक भएको देखिँदैन । तर बुलाकी फुकाल्दा उनलाई धेरै कष्ट पर्छ । यद्यपि त्यसबेला उनको नाकबाट रगत समेत बग्छ । उनले लगाएदेखि उक्त बुलाकी कहिल्यै फुकालेकी हुँदिनन् तर त्यसबेला जारीमा फुकालेर दिन्छिन् । सहिबेला हिरालाई लाग्छ कि ‘जता गएपनि, जे गरेपनि हामी महिलाहरू भनेको त बजारमा बेच्न राखिएको वस्तुभाउ जस्तो रहेछ, बेच्न पाइने, किन्न पाइने ।’

त्यसैले पनि फिल्मको नाम बुलाकी राखिनु उपयुक्त नै देखिन्छ ।

यसरी कर्णाली परिवेशमा खिचिएको फिल्म बुलाकी नेपालको मौलिक कथालाई देखाएको उत्कृष्ट फिल्म मध्ये एक भन्दा फरक नपर्ला । फिल्ममा कर्णालीका सुन्दर दृश्यहरू देख्न सकिन्छ । फिल्ममा सुरक्षा पन्त, नरेन खड्का र विराज विष्टको उत्कृष्ट अभिनय रहेको छ । जसकारण फिल्म जीवन्त बनेको छ । फिल्म बनाउँदा साना साना कुरालाई पनि ध्यान दिएको छ । जस्तै छाउगोठमा हिराले काठको भाँडोमा पिठो घोलेकी छन् । उक्त सामग्रीले पनि गाउँघर र कर्णालीको भाव झल्को दिएको छ । यद्यपि फिल्ममा सबै पक्षले राम्रो काम गरेको देखिन्छ ।

साथै फिल्ममा कर्णाली भेगमा नै बोलिने भाषा र शैलीको प्रयोग गरिएको छ । जसले गर्दा फिल्म दुर्बाेध्य बन्न पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *