साफ यु-२० च्याम्पियनसिप आजदेखि

उद्घाटन खेलमा श्रीलंकाको सामना गर्दै नेपाल

काठमाडौं । आजदेखि साफ यू-२० च्याम्पियनसिप सुरु हुँदैछ । आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले  साफ यू-२० च्याम्पियनसिपको समूह चरणका सबै खेल एन्फा कम्प्लेक्समा हुने बताएको छ । यस अघि दशरथ रंगशाला र च्यासलस्थित स्टेडियममा हुने भनिएपनि अब समूह चरणका सबै खेल एन्फा कम्प्लेक्समा हुने भएको हो ।

आज प्रतियोगिताको उद्घाटन खेलमा श्रीलंका र नेपाल खेल्ने तालिका रहेको छ । यो खेल अपराह्न ३ बजेदेखि सुरु हुने छ । लगातार दोस्रोपटक प्रतियोगिता आयोजना गरिरहेको नेपाल यसपटक उपाधि जित्ने लक्ष्यमा छ । नेपाली टोली कुशल देउवाको कप्तानीमा मैदान उत्रँदैछ । नेपाली टोलीमा यसपटक डिभिजन लिग र एनएसएल खेलेका खेलाडीहरू हुँदा टिम अनुभवी बनेको छ ।

एन्फाले यस अघि प्रतियोगिताका लागि दशरथ रंगशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स गरी तीन स्थान तय गरेको थियो । तर, च्यासल मैदानमा बाढी पसेपछि खेल सञ्चालन गर्न नसकिने अवस्था आएको छ भने दशरथ रंगशाला पनि वर्षाले हिलाम्मे रहेको छ ।

साफले दशरथ रंगशाला र एन्फा कम्प्लेक्सको मैदानलाई आयोजना स्थलको स्वीकृति दिएर खेल तालिका समेत जारी गरे पनि गत मंगलबार भुटानको पारो एफसी र नेपालको चर्च ब्वाईज बीचको खेल सञ्चालन हुँदा मैदान पूर्ण रुपमा खराब भएपछि एन्फाले समूह चरणका खेलहरू एन्फा कम्प्लेक्समा र सेमिफाइनल र फाइनल खेल दशरथ रंगशालामा हुने भएको छ ।

साफ यू-२० मा नेपालसहित बंगलादेश, श्रीलंका, भारत, माल्दिभ्स र भुटान गरि ६ देशले भाग लिँदैछन् । जसमा समूह ए मा नेपाल, बंगलादेश र श्रीलंका रहेका छन् भने समूह बी मा भारत, माल्दिभ्स र भुटान रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *