बझाङ पहिरो अपडेट : मृतकका परिवारलाई प्रतिव्यक्ति एक लाख दिइने
बझाङ । सुदूरपश्चिम प्रदेश सरकारले बझाङको बुङ्गल नगरपालिका–१० टुमेडागाउँमा पहिरोमा परी मृत्यु भएका परिवारलाई प्रतिव्यक्ति रु एक लाख दिने भएको छ ।
सोमबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रेस विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई राहत स्वरुप सो रकम प्रदान गर्ने घोषणा गरेका हुन् ।
यही भदौ २ गते राति १ बजे परेको अविरल बर्षाका कारण टुमेडागाउँका वीरबहादुर धामीको घर पहिरोले पुरिँदा निज धामीको ५५ वर्षीया धर्मपत्नी काली धामी, २५ वर्षीया जेठी बुहारी गोल्की धामी, छ वर्षीया नातिनी आकृति धामी र तीन वर्षीया नातिनी लक्ष्मी धामी गरी चार जनाको ज्यान गएको थियो ।
मुख्यमन्त्री शाहले पहिरोमा ज्यान गुमाएका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनले विज्ञप्तिमार्फत तत्काल उद्धार तथा राहत कार्यमा सङ्लग्न हुन सम्बन्धित निकायलाई निर्देशन समेत दिएका छन् ।