पहिचान खुलाएर बाँच्न चाहेकी सुमित्रा
काठमाडौं । भोजपुरकी सुमित्रा श्रेष्ठको शरीरको बनावट केटीको छ । तर, उनलाई नङ पालिस, लिपिस्टिक र टीका लाउन मन पर्दैन । उनलाई चिटिक्क बन्न पन मन लाग्दैन । उनको शारीरिक बनावट केटीको भए पनि उनको स्वभाव केटाको छ । उनलाई केटी भन्दा पनि केटा भनेको मन पर्छ ।
भोजपुरको गरिब परिवारमा जन्मिएकी सुमित्राका ५ दिदी छन् । काइँली सन्तानको रूपमा जन्मिएकी सुमित्रालाई बच्चामा पनि छोराको जस्तो व्यवहार चाहिन्थ्यो । उनको इच्छा अनुसार परिवारका सदस्यले उनलाई छोराको लुगा कपडा लगाइ दिन्थे, छोराको जस्तै माया देखाउँथे । उनको आमाले उनको इच्छामा अंकुश लगाउँदैन थिइन् । उनको भावना बुझ्ने कोसिसमा परिवार लागिरहेको थियो ।
सुमित्राको उमेर सँगै उनको पढाई लेखाइ पनि राम्रै चलिरहेको थियो । तर, एक दिन सुमित्राको आमाले आत्महत्या गरिन् । १० वर्षकै उमेरमा आमा गुमाएपछि सुमित्राको जीवनमा बज्रपात आइलाग्यो । उनको इच्छा र भावना बुझिदिने मान्छे पाइनन् । जब उनको उमेर बढ्दै गयो तब असजिलो महसुस हुन थाल्यो ।
‘म १० वर्षको हुँदा मेरो आमाले आत्महत्या गरिन् । तर घरमा सबैले मलाई छोरा जस्तै बनाएर हुर्काउनु भयो । सानैबाट छोराको लुगा लगाइदिने छोरालाई जस्तै व्यवहार गर्ने गर्नु हुन्थ्यो,’उनले भनिन्,‘मलाई पनि लाग्थ्यो म आफू छोरी होइन छोरा नै हुँ । तर उमेर बढ्दै जाँदा असजिलो महसुस भयो ।’
आमासँगै छुट्यो पढाइ
सानैमा आमा गुमेपछि सुमित्रालाई माया र केयरको अभाव त छदै थियो । त्यसमाथि थपियो आफ्नै बुवाको हेलाँ । बिस्तारै सुमित्रालाई उनको परिवारको साथ छुट्दै गयो । उमेर बढ्दै गएसँगै उनमा आउने परिवर्तनले उनैलाई समस्यामा पारिरह्यो ।
परिवारको साथ छुट्दै गएपछि साथी भाइ र समाजको साथ पनि छुट्दै गयो । सानो कक्षामा पढ्दा खासै समस्यामा नपरेकी सुमित्रा जब कक्षा ५ मा पुगिन, उनलाई पढ्ने वातावरण नै भएन । उनलाई आफ्नै साथी र शिक्षकहरूले खिसीटिउरी गर्न थाले । पढ्ने वातावरण नपाएपछि सुमित्राले कक्षा ५ मै पढाइ छाडिदिइन् ।
‘उमेर सँगै ममा पनि परिवर्तन आउँदै गयो । आमाको माया नपाएकी म बुबा र घरबाट हेपिँदै गए । पढ्ने वातावरण पनि राम्रो थिएन । कक्षा ५ मा पढ्दै गर्दा स्कुलबाट रेष्टिकेट भए,’उनले भनिन्‘त्यति बेला मैले मेरो आमालाई धेरै सम्झिए सायद आमा भइदिएको भए मलाई सम्झाउने बुझाउने माया गर्ने कोही हुन्थे होलान् ।’
सानो हुँदा उनलाई खासै कसैले पनि त्यति वास्ता गरेनन् । जब उनी ठुलो हुँदै गइन्, तब उनलाई सबैले याद गर्न थाले । उनको आनीबानीको चियोचर्चा गर्न थाले । सानैमा पढाइ छाडेसँगै उनको यात्रा पनि मोडिएको सुमित्रा बताउँछिन् ।
अनि घर नै छाडिदिइन्
अरूभन्दा भिन्न भए पनि आफू के हुँ भन्नेमै अलमलिएकी सुमित्रालाई घरमै बस्न मन लागेन । सबैबाट अपहेलित भएकी उनले आमा, पढाइछुटेसँगै घर नै छाडिदिइन् । भोजपुर छोडेर सुमित्रा धरान आइन् ।
धरानमा जे पाउँछु त्यही काम गर्छु भनेर गाउँ छोडेकी सुमित्राले धरानमा धेरै दुख गरिन् । कहिले ज्यालादारी काम गरिन् त कहिले गाई बस्तु खरिद गरिन् । अन्य सानातिना काम त कति गरिन्, गरिन् ।
‘घरको हेपाई र पिटाइले सहन नसकेर धरान आए । घर छोडे पछि जे पाउँछु त्यही काम गर्दै हिँडे । धरानमा आफन्तहरू धेरै थिए,’उनले भनिन्,‘एक दिन बाटोमा हिँड्दै गर्दा माइजूलाई भेटे । माइजुलाई सबै कुरा भने पछि मलाई मामासँगै काम गर्नु भन्नु भयो । मामाले गोरु खरिद बिक्री गर्नु हुँदो रहेछ, म पनि मामासँगै काम गर्दै हिँडे । त्यो काममा मैले ४ वर्ष बिताए ।’
पहिचान लुकाएर बाँच्नुको पिडा सुमित्राले धरानमा भोगिन् । उनले आफ्नो यौनिक पहिचानका कारण कति पिडा भोगिन्, कति दुख पाइन् त्यसको व्याख्या गरी साध्य छैन ।
विवाहित महिलासँग प्रेम
धरानमा कहिले ज्यालादारी, कहिले खेताला, कहिले गोठालागरि सुमित्राको गुजारा चलेको थियो । सधैजसो ज्यालादारीको काममा जाँदै गर्दा उनलाई एक महिलाले बोलाइन् । त्यसपछि उनीहरूको चिनजान भयो ।
त्यो दिन सम्झिँदै उनले भनिन्– ‘काममा साथीहरूसँग जाँदै थिए । मलाई एक महिलाले बोलाइन् । मैले पनि कुरा गरे । उनले मलाई तपाई कस्तो राम्रो, राजु लामा जस्तै अनि मुस्कान पनि एउटै लाग्यो भनिन् । कसैले आफ्नो त्यति धेरै तारिफ गरेको सुनेर म पनि मक्ख भए । हामी सधैँ जसो एउटै बाटोमा भेट हुन थाल्यौँ । भेट हुँदा जहिले पनि उनले बोलाउँथिन् ।’
बाटोमा भेटिएकी ती महिलासँग सुमित्राको यति धेरै माया बस्यो की, उनीसँगै १० वर्ष बितेको पत्तो नै भएन । सडकमा एक्लो भएर काम गर्ने सुमित्रालाई कसैको मिठो बोली पनि अमृत सरह थियो । उनलाई पनि ती महिलाले कहिल्यै नराम्रो गरिनन् । उनको भावना सुनिदिइन् । उनको कुरा बुझिदिइन् । र दुःखसुखमा साथ दिइन् । अझै भनौँ, सुमित्रा र ती महिलाको प्रेम भयो ।
‘उनको पनि घरपरिवारसँग सम्बन्ध राम्रो रहेनछ । उनका श्रीमान् विदेश थिए, उनिभने छोराको पढाइका लागि धरान बस्थिन् । उनलाई श्रीमानले पिडा दिएको रहेछ,’ती दिन सम्झिँदै उनले भनिन्, ‘म भएपछि उनले आफ्ना सबै दुख बिर्सिन्छन् । उनको लागि मैले धेरै दुख गरे कामहरू गरेर पैसा कमाउँथे ।’
सुमित्रा र ती महिलाको सम्बन्ध प्रगाढ बन्दै थियो । उनीहरू एक अर्काका लागि प्रियपात्र थिए । तर, सुमित्रा र ती महिलाको सम्बन्धबारे महिलाको परिवारलाई थाहा भएपछि भने उनीहरूको प्रेमीलयात्रामा पूर्ण विराम लाग्यो ।
‘जीवन खुसीसाथ चलेको थियो । एक दिन उनको र मेरो सम्बन्धबारे उनको देवरलाई थाहा भएछ,’उनले भनिन्,‘त्यसपछि उनलाई धेरै गाली र धम्की दिन थालेछन्, कि सुमित्रालाई रोज की घर परिवारलाई रोज भनेर परिवारको दबाब आएपछि उनले आफ्नो परिवार रोजिन् । म फेरी अलपत्र परेँ । पहिले जस्तै टुहुरो भएँ ।’
बाँच्नलाई राजधानीको यात्रा
समाज, घरपरिवार र प्रेमबाट अपहेलित भएकी सुमित्रा अहिले काठमाडौँमा छिन् । उनी काठमाडौँ आएको धेरै भएको छैन । उनले काठमाडौँमा गल्र्स होस्टेलमा खाना पकाउने काम गर्छिन् ।
‘सबैबाट बहिष्कृत भएपछि जिन्दगीको नयाँ यात्राको लागि काठमाडौँ आएकी हुँ । यहाँ होस्टेलमा खाना पकाएर भाँडा माझेर जिन्दगी चलाइरहेकी छु,’उनले भनिन्,‘कुनै संस्थाको साथ पाए लामो जिन्दगी जिउन मन छ । पहिचान लुकाएर र गुम्सेर बस्न मन छैन ।’
पढ्ने र आफ्नो पहिचानलाई लुकाएर हिँड्न मन नपराउने सुमित्राले काम गरेरै आफ्नो जिन्दगी चलाएकी छन् । उनलाई अब लामो जिन्दगीको लागि सहयोग चाहिएको छ । पहिचान लुकाएर हिँड्ने वातावरण अन्त्य भएको हेर्न चाहना उनको छ ।