दीपेन्द्रसिंह ऐरीको छ छक्काको रेकर्ड तोडियो, एकै ओभरमा बन्यो ३९ रनको नयाँ कीर्तिमान
नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरीको एकै ओभरमा ६ छक्का प्रहार गरेको कीर्तिमान तोडिएको छ।
सामोआका विकेटकीपर ब्याटर डेरियस विस्सरले पुरुषको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक ओभरमा सबैभन्दा धेरै रन बनाउने कीर्तिमान बनाएका हुन्।
आईसीसी पुरुष टी–२० विश्वकप पूर्वी एशिया–प्रशान्त क्षेत्र छनोटअन्तर्गत भानुआतुसँगको खेलमा सामोआका विस्सरले एक ओभरमा ३९ रन बनाएर नयाँ विश्व कीर्तिमान रचेका छन् ।
खेलको १५ औँ ओभरमा उनले भानुआतुका नलिन निपिको बलमा ६ वटा छक्कासहित अतिरिक्त रनको मद्दतमा ३९ रन जोडेका हुन् । पुरुष टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ६ बलमा लगातार ६ वटा छक्का प्रहार गर्ने कीर्तिमान यसअघि नै बनिसकेको थियो तर एकै ओभरमा ३९ रन अहिलेसम्मकै धेरै हो ।
यसअघि पाँच पटक टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै टिमले एकै ओभरमा ३६ रन बनाएको थियो । सन् २००७ मा भारतका युवराज सिंहले इङ्गल्यान्डका स्टुअर्ट बोर्डलाई एक ओभरमा ६ वटा छक्का प्रहार गर्ने पहिलो ब्याटर बनेका थिए ।
त्यसपछि सन् २०२१ मा वेस्ट इन्डिजका कायरन पोलाडले श्रीलङ्काका अकिल धनन्जयलाई एक ओभरमा ६ वटा छक्का प्रहार गरेका थिए । यस्तै सन् २०२४ मा नेपालका दीपेन्द्रसिंह ऐरीले कतारका कमरन खानलाई एक ओभरमा ६ वटा छक्का प्रहार गरेका थिए ।
यस्तै एकै ओभरमा ६ वटा छक्का प्रहार नभए पनि सन् २०२४ को टी–२० विश्वकपमा अफगानिस्तानसँगको खेलमा वेस्ट इन्डिजका निकोलस पूरन तथा सन् २०२४ मै अफगानिस्तानसँगको खेलमा भारतका रोहित शर्मा र रिङ्कु सिंहले मिलेर एकै ओभरमा ३६ रन जोडेका थिए ।
यसैगरी सामोआका डेरियस विस्सर टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने देशको पहिलो ब्याटर बनेका छन् ।
आजको खेलमा सामोआले १ सय ७४ रन बनाएकोमा उनी एक्लैले १ सय ३२ रन जोडे, यो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा टिमको रनको तुलनामा ब्याटरले बनाएको रनको उच्चतम प्रतिशत हो ।
यो खेलमा सामोआ १० रनले विजयी भएको थियो ।