के चाहन्छ माओवादी केन्द्र ?

काठमाडौं । सत्ताबाट करिब ९ वर्षपछि संघदेखि प्रदेशसम्म प्रतिपक्षमा हुत्तिएको नेकपा माओवादी केन्द्र अहिले संसद्को प्रमुख प्रतिपक्षको भूमिकामा छ । गत निर्वाचनमा ३२ सिटसहित तेस्रो दल बनेको माओवादीले दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेलाई साथमा लिएर १८ महिनाभन्दा धेरै सरकारको नेतृत्व गर्‍यो ।

कांग्रेससँग गठबन्धन गरेर निर्वाचनमा गएको माओवादी केन्द्र निर्वाचनपछि भने एमालेको समर्थनमा सरकारको नेतृत्व सम्हाल्यो । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग सहकार्य गर्दै प्रधानमन्त्री बने । पालैपालो कांग्रेस-एमालेलाई साथमा लिँदै सरकारको नेतृत्व गरेको माओवादीको सरकार अन्ततः १८ महिनामा ढल्यो ।

गएको असार २८ गते प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रचण्ड नेतृत्वको सरकार ढलेको हो । २०७९ साल पौष ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्ड १८ महिना सत्ताको नेतृत्व गरेपछि प्रतिपक्षमा पुगेका हुन् ।

यसअघि अध्यक्ष प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सत्ता केन्द्रित हुँदा पार्टी निष्क्रिय भएको आरोप लाग्ने गरेको थियो । २०७२ सालमा संविधान जारी भएपछि कहिले कांग्रेस त कहिले एमालेसँग मिलेर सत्ता लाभ लिएको माओवादी ९ वर्षपछि प्रतिपक्षमा पुगेको हो ।

माओवादी सत्ताबाट बाहिरिएपछि अहिले जनताको साथ र समर्थन खोजिरहेको छ । माओवादीका नेताहरू पार्टीको बैठक होस् या त सार्वजनिक कार्यक्रममा जनतालाई सम्झिने गरेका छन् । ‘जनताका मुद्दालाई रक्षा गर्न सडक र सदनबाट प्रभावकारी कदम चाल्छौँ,’ प्रचण्ड भन्छन्, ‘जनता र वर्गप्रति फर्कने अवसर प्राप्त भएको छ । सदुपयोग गर्छौँ ।’

अब माओवादीको एउटै लक्ष्य छ- आउँदो निर्वाचनमा बलियो शक्ति बन्ने र फेरि सरकारको नेतृत्व गर्ने । माओवादी पार्टी जनतालाई साथमा लिएर सडकदेखि सदनसम्म प्रभावकारी भूमिका निर्वाह गर्दै आगामी निर्वाचनमा बहुमत प्राप्त गर्ने ध्यानमा छ । त्यसैकारण माओवादीले अहिलेको समयलाई अवसरका रुपमा लिएको छ । सत्तामा हुँदा जनता र वर्गप्रति फर्कने अवसर प्राप्त नगरेको माओवादीले अहिले बल्ल उक्त अवसर पाएको हो ।

खासगरी सत्ता केन्द्रित राजनीतिले शिथिल भएको माओवादी अहिलेकै नेतृत्व र संगठनबाट फेरि तङ्ग्रिन सक्छ कि सक्दैन भन्ने ठूलाे प्रश्न खडा भएको छ । नेताहरूको जीवनशैली, आचरण, व्यवहारका कारण पछिल्लो समय माओवादीले निकै आलोचना खेप्नुपरेको छ ।

पदाधिकारी र स्थायी समिति बैठक समापन गरेको माओवादीको केन्द्रीय समिति बैठक असोज पहिलो साता बस्नेछ । केन्द्रीय समिति बैठक अघि प्रदेशहरूमा परामर्श समिति बैठक बस्नेछ । परामर्श बैठकहरूमा अध्यक्ष प्रचण्डदेखि अन्य पदाधिकारीहरूको उपस्थिति रहने छ ।

सधैँ जनताको साथमा छौँ : सांसद शाही
नेकपा माओवादी केन्द्रका नेता एवं सांसद महेन्द्र बहादुर शाहीले आफूहरू जहिल्यै जनताको साथमा रहेको बताए । ‘दश वर्षको सशस्त्र युद्धको समय देखी आजसम्म निरन्तर जनताका मुद्धाहरु उठाइरहेका छौँ,हामी जनताबाट टाढा नभई साथमै छौँ,सत्तामा पुगेपछि जनतालाई बिर्सने र प्रतिपक्षमा पुगेपछि मात्रै सम्झिने भन्ने कुरा गलत हो,’ सांसद शाहीले मकालुखबरसंग भने ।

जनतामा गएर माओवादी पार्टीले गरेको राम्रो कामको प्रचार गरिने उनले बताए । साथै पार्टी रूपान्तरण सहित अघि बढ्ने उनले बताए । माओवादी केन्द्रबाट जनताले दिगो विकास,आर्थिक समृद्धि,भ्रष्टाचार नियन्त्रण र सामाजिक न्यायको अपेक्षा राखेकामा त्यसलाई पूरा गर्ने गरी पार्टी लागिपरेको उनी बताउँछन् ।

उनले यी नै विषयलाई प्राथमिकतामा राखेर प्रचण्ड नेतृत्वको सरकारले काम गरिरहेकामा काम गर्न नदिएर सरकार ढालिएको बताए । स्पष्ट बहुमत नहुँदा उल्लेखित कामहरु शतप्रतिशत नभए पनि जनतामा आशा जगाउने गरी कामहरु भएको उनको तर्क छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *