बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा वैज्ञानिक महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितीमा बुधवार मन्त्रालय र केन्द्रबीच हस्ताक्षर भएको हो । कार्यक्रममा बोल्दै मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न उपकरणलाई पनि व्यवस्थित गर्नुपर्ने भएकाले राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता गरेको बताए ।
उनले सिमित श्रोत, साधनका कारण आवश्यकताअनुसारको उपकरणहरु खरिद गर्नसक्ने अवस्था नरहेको भन्दै भएका उपकरणहरुलाई बढी भन्दा बढी कसरी प्रयोगमा ल्याउन सकिन्छ ? भन्ने हेतुले आवष्कार केन्द्रसँग सम्झौता गरेको बताए ।
उनले प्रयोगमा नआएर थन्किएका उपकरणहरुलाई मर्मत गरेर प्रयोगमा ल्याउनसके ठूलो धनराशीको खर्च पनि नहुने र राज्यको सिमति खर्चभित्र उपकरणहरु व्यवस्थापन हुने बताए ।
उनले थन्किएको उपकरणहरुको व्यवस्थापन गर्नसके अस्पताल पनि सफा हुने र अस्पताललाई आवश्यक उपकरणहरु पनि प्राप्त हुने बताए । मन्त्री पौडेलले संघीय १७ वटै अस्पतालमा उपकरण व्यवस्थापनमा महत्वपूर्ण काम हुने विश्वास व्यक्त गरे ।
यस्तै कार्यक्रममा बोल्दै राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्रले थप अर्को जिम्मेवारी पाएको बताए । उनले संघीय सरकारअन्तर्गत रहेका अस्पतालहरुको बायोमेडिकल इक्वीपमेण्टहरु, बिरामी जाँच गर्ने उपकरणहरुको रेखदेख गर्ने, मर्मत गर्ने र त्यसको अवस्था बुझेर मर्मत गर्नसक्नेलाई मर्मत गर्ने बताए ।
उनले आफूहरुको लागि यो ठूलो जिम्मेवारी भएको र इक्वीपमेण्टलाई राम्रो कण्डिसनमा राखेर बेलैमा उपलब्ध गराउनसके मान्छेको ज्यान बचाउन सकिने बताए ।
उनले भने– ‘राष्ट्रिय आविष्कार केन्द्रले थप अर्को जिम्मेवारी पाएको छ । यो जिम्मेवारी भनेको संघीय सरकारअन्तर्गत रहेका अस्पतालहरुको बायोमेडिकल इक्वीपमेण्टहरु, बिरामी जाँच गर्ने उपकरणहरुको रेखदेख गर्ने, मर्मत गर्ने र त्यसको अवस्था कस्तो छ, नराम्रा छन् भने त्यसलाई लिस्ट बनाउने र राम्रो मर्मत गर्नसक्नेलाई मर्मत गर्ने जिम्मेवारी पाएको छ । यो ठूलो जिम्मेवारी हो । यो भनेको मान्छेको स्वास्थ्यसँग सम्बन्धित कुरा हो । इक्वीपमेण्टलाई राम्रो कण्डिसनमा राखेर बेलैमा उपलब्ध गराउनसके मान्छेको ज्यान बचाउन सक्छ । लाखौँ मान्छेले यसबाट सेवा लिन सक्छन् । हामीले हाम्रो क्षमताले सकेसम्म इमान्दारीपूर्वक गर्नेछाँै ।’
मन्त्रालयका तर्फबाट गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदन उपाध्याय र केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतामा हस्ताक्षर गरे । अस्पतालमा खेर गइरहेका उपकरण मर्मत गर्नका लागि सघाउन मन्त्री पौडेलले केही दिनअघि पुनसँग आग्रह गरेका थिए ।
त्यसलगत्तै मन्त्रालयले उनी नेतृत्वको केन्द्रसँग औपचारिक सम्झौता गरेको हो । अब केन्द्रले हाल मन्त्रालयअन्र्तगतका १७ अस्पतालमा बिग्रिएर रहेका स्वास्थ्य उपकरणको अवस्थाबारे जानकारी लिनेछ । त्यसपश्चात मर्मत सम्भव भएका सबै उपकरणको केन्द्रका प्राविधिकहरुले मर्मत गर्नेछन् ।