साफ यू-२० च्याम्पियनसिपमा समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा

काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) २० वर्ष मुनिको च्याम्पियनपसिप फुटबल प्रतियोगितामा नेपालले बङ्गलादेशलाई पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फाकम्प्लेक्सको खेल मैदानमा बिहीबार भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोलअन्तरले पराजित गर्दै समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो ।

नेपालले आफ्नो पहिलो खेलमा श्रीलङ्कालाई १–० गोलअन्तरले पराजित गरेको थियो । नेपालको दुई खेलमा ६ अङ्क भएको छ ।यस हारसँगै बङ्गलादेश पनि समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । बङ्गलादेशलले तीन अङ्क बटुलेको छ । श्रीलङ्का भने अङ्कविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

नेपालको जितमा समिर तामाङ र निराजन धामीले समान एक एक गोल गरे । दुवै गोल खेलको पहिलो हाफमा भएको थियो । खेलको १७औँ मिनेटमा नेपालले पहिलो अग्रता लियो । नेपालका समिरले नेपाललाई पहिलो अग्रता दिलाएका हुन् । त्यसपछि खेलको १९औँ मिनेटमा नेपालका अर्का खेलाडी निराजनले एक गोल थपे । उनले अभिनाश स्याङ्तानको क्रसमा गोल गरेका हुन् ।

त्यस्तै खेलको ४३औँ मिनेटमा बङ्गलादेशका लागि मिराजुल इस्लामले पेनाल्टीमार्फत एक गोल फर्काए । नेपालका राम थापाले पेनाल्टी क्षेत्रभित्र मिराजुललाई लडाएपछि रेफ्रीले बङ्गलादेशलाई पेनाल्टी दिएको थियो ।

खेलको दोस्रो हाफमा दुवै टोलीले गोल गर्ने निकै प्रयास गरे  पनि सफल हुन सकेनन् र खेल २–१ मा सम्पन्न भयो । समूह ‘बी’ अन्तर्गत समूह चरणको भोली(शुत्रवार) हुने अन्तिम खेलमा भारत र माल्दिभ्स भिड्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *