प्रधानमन्त्री अमेरिका जाने तय, थाइल्याण्ड अनिश्चित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघीय महासभाका लागि अमेरिकाको न्यूयोर्क जाने भएका छन् ।

राष्ट्रसंघको महासभा सेप्टेम्बर १० देखि २८ गते (२५ भदौदेखि १२ असोज)सम्म न्यूयोर्कमा हुनेछ । त्यस अन्तर्गत समिट अफ द फ्युचर २२-२३ सेप्टेम्बर (६-७ असोज)मा हुने तय भएको छ ।

समिट अफ द फ्युचरमा सम्बोधन गर्ने गरी प्रधानमन्त्रीको ओलीको न्यूयोर्क भ्रमणको तयारी छ । महासभामा भाग लिने प्रधानमन्त्री जाने पक्का भए पनि कहिले र को-को जाने भन्ने विषय छलफल हुनै बाँकी छ । ओलीले प्रधानमन्त्रीका रुपमा २०७५ असोजमा पनि राष्ट्रसंघ महासभालाई सम्बोधन गरेका थिए । पछिल्लो पटक ३० असारमा प्रधानमन्त्री भएका ओली विदेश भ्रमणमा गएका छैनन् ।

यसबीच प्रधानमन्त्रीले गर्ने भनिएको थाइल्याण्ड भ्रमण भने अनिश्चित भएको छ । प्रधानमन्त्री ओली सहभागी हुने तयारी गरिएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलन निर्धारित मितिमा नहुने देखिएको छ । आयोजक राष्ट्र थाइल्याण्डको नयाँ सरकार गठन भइरहेको बिलम्बका कारण बिम्स्टेक सम्मेलन स्थगनको सम्भावना बढेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *