टिप्पणी

लोकप्रियतामा रुमल्लिएको रास्वपा ! 

काठमाडौं । २०७९ सालको आम निर्वाचनबाट राष्ट्रिय राजनीतिमा वैकल्पिक शक्तिका रूपमा उदाएको पार्टी हो, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ।

नेपाली जनतामानिहित राष्ट्रिय सार्वभौमिकतालाई आत्मसात् गर्दै नेपालको राष्ट्रिय हितलाई सर्वोपरि मानी जनउत्तरदायी, जनसहभागितामूलक लोकतान्त्रिक राज्य शासन व्यवस्था प्रवर्धन एवं दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गरी जनताको जीवनस्तरमा सुधार ल्याउने प्रतिविद्धतासहित रास्वपाको गठन भयो ।

०७९ असारमा निर्वाचन आयोगमा दर्ता भएको पार्टी सोही वर्षको मंसिरमा भएको प्रतिनिधि सभा चुनावमा सहभागी भएर पार्टी स्थापनाको छोटो समयमा नै संसद्को निर्णायक शक्ति बन्न सफल भयो ।

दिगो शान्ति, सुशासन, विकास, समृद्धि, भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राखेको रास्वपा पछिल्लो समय लोकप्रियतामा रुमल्लिन थालेको छ ।

अहिले जनताको विश्वास बटुल्न रास्वपाका नेता तथा सांसदहरूले अनेक किसिमको स्टन्ट गरिरहेका छन् । केही दिनअघि मात्रै सभापति रवि लामिछानेसहित अन्य सांसद तथा नेताहरूले लोकप्रियताका लागि नै सार्वजनिक यातायातको प्रयोग गरे ।

उसो त, राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले आवतजावतका लागि सार्वजनिक यातायात नै प्रयोग गर्दै आएका छन् । तर, उनले कहिल्यै राजनीतिक स्टन्टको रूपमा प्रयोग गरेनन् ।

सामाजिक सञ्जालको बढ्दो प्रयोगका कारण समाज पनि यसैतर्फ केन्द्रित छ । त्यही भएर होला रास्वपा काम भन्दा सामाजिक सञ्जालबाट नै जनतामाझ लोकप्रिय हुन चाहेको ।

पार्टीभित्र असन्तुष्टि चुलिँदै 

राष्ट्रिय स्वतन्त्र पार्टीभित्र असन्तुष्टि चुलिँदै गएको छ । पार्टीभित्र असन्तुष्टि बढ्दै जाँदा पार्टी छाड्नेहरूको ह्वात्तै बढेका छन् । नयाँ जोस,जाँगर,ऊर्जाका साथ पार्टी उदाएपनि पुरानै दलको अघिपछि पार्टी नेतृत्व लागेको भन्दै नेता कार्यकर्ताहरू पार्टी छाडिरहेका हुन् । नेतृत्वको गतिविधिप्रति असन्तुष्टि जनाउँदै केन्द्रीय सदस्यदेखि प्रदेश,जिल्लाका नेता कार्यकर्ताहरूले पार्टी छाडेका हुन् ।

पार्टीको नीति नियम विपरीत चलेको भन्दै महामन्त्री मुकुल ढकाललाई पार्टीले केही समयअघि साधारण सदस्य कायम राखी महामन्त्री,पार्टी प्रवक्ता र केन्द्रीय सदस्यको जिम्मेवारीबाट हटाएको थियो । त्यतिबेला ढकालले रास्वपाबाट नभई रवि लामिछाने क्लबबाट आफूलाई हटाइएको बताएका थिए ।

ओरालो यात्रामा रास्वपा
रास्वपाले सुशासन र भ्रष्टाचार नियन्त्रणलाई आफ्नो प्राथमिकतामा राखेको छ । तर,पार्टीका शीर्ष नेता नै विभिन्न काण्डमा मुछिएपछि रास्वपा उदाएको छोटो समयमा नै ओरालो यात्रामा गइरहेको छ । पार्टी सभापति रवि लामिछाने नै दोहोरो नागरिकता सम्बन्धी विवाददेखि सहकारी ठगी प्रकरणमा मुछिएका छन् ।

सहकारी ठगी प्रकरणका विषयमा संसदीय विशेष समितिले छानबिन गरिरहेको छ । यसैबीच समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका सांसद रवि लामिछानेलाई बयानका लागि बोलाउने तयारी पनि गरेको छ । समितिले रास्वपा सहमहामन्त्री विपिन आचार्यको बयान लिइसकेको छ ।

लामिछानेले जीवी राईसँग मिलेर ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्न विभिन्न सहकारीहरूबाट गैर कानूनी रूपमा रकम लिएको आरोप छ । गोरखा मिडिया नेटवर्कबाट सञ्चालित ग्यालेक्सी टिभीमा राई अध्यक्ष र लामिछाने प्रबन्ध निर्देशक थिए । सहकारी प्रकरणमा मुछिएपछि राई भने फरार छन् ।

निलम्बित महामन्त्रीको चुनौती
निलम्बित महामन्त्री डा. ढकालले सभापतिविरुद्ध झन् खरो रूपमा उत्रिएका छन् । दोस्रोपटक सोधिएको स्पष्टीकरणको जवाफ फर्काउँदै मुकुलले सभापति रवि लामिछानेमाथि प्रश्न बर्साएका हुन् ।

गत साता ढकाललाई पार्टीको साधारण सदस्य समेतबाट हटाउने उद्देश्यले पार्टीले स्पष्टीकरण सोधेको थियो । त्यसको जवाफमा ढकालले पार्टी सभापति लामिछानेमाथि नै नैतिक प्रश्नहरू उठाएर जवाफ दिएका थिए ।

यो पनि : रवि लामिछाने ठग, भ्रष्ट्राचारी र अपराधी हो भनेर प्रमाणित गर्न सक्छु : मुकुल ढकाल

ढकालले विभिन्न जिल्लाको स्थलगत भ्रमणपछि पार्टीको समीक्षा प्रतिवेदन तयार पारेका थिए । उक्त प्रतिवेदनमा पार्टी सभापति रवि लामिछानेको व्यवहार र पार्टी सञ्चालन विधिमाथि आलोचना गरिएको थियो लगत्तै पदबाट बर्खास्त नै गरियो । उक्त विषयमा पार्टी र ढकालबीचको विवाद आयोगमा पुगेको छ ।

मुकुलले रविका विषयमा नैतिकताका प्रश्न उठाउँदा पनि पार्टी नेताहरू मौन छन् । यसले पनि आम नागरिकमा रास्वपा पनि पुरानै पार्टीको शैलीमा सञ्चालन भइरहेको टिप्पणी गरिरहेका छन् ।

नेतृत्वमाथि नै गम्भीर आरोप र प्रश्नहरू उठिरहँदा नयाँ शैलीमा चल्ने भनिएको रास्वपाको लोकप्रियता नै ओरालो लागेको धेरैको तर्क छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *