महिला हिंसाविरुद्धको कथामा आधारित चलचित्र ‘देवी’ प्रदर्शन हुँदै

काठमाडौं । तीजलाई लक्षित गर्दै महिला हिंसाविरुद्धको कथामा तयार गरिएको चलचित्र ‘देवी’ प्रदर्शन हुने भएको छ ।

अभिनेत्री शिल्पा मास्केले सञ्चारकर्मीसँग कुराकानी गर्दै तीजका अवसरमा चलचित्र प्रदर्शन हुन लागेको र चलचित्रले समाजमा महिला हिंसाविरुद्ध सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरिन् ।

“महिला हिंसाविरुद्ध केही गर्नुपर्छ भनेर म यस चलचित्रमा अभिनेत्रीसँगै सह निर्मात्रीका रूपमा जोडिएकी छु । यो चलचित्र हेरेर यस्ता घटना केही कम गर्न सकियो भने नै हाम्रो जित हुनेछ”, उनले भनिन् ।

अभिनेत्री मास्केले महिलाकै कथा भएकाले तीजलाई लक्षित गर्दै प्रदर्शन गर्न लगिएको बताइन् । चलचित्रका निर्देशक सञ्जोग राईले फोटो पत्रकार हुँदा नै महिला हिंसासम्बन्धी पढेका खबरलाई चलचित्रको विषय बनाउनुपर्छ भन्ने प्रेरणा मिलेको बताए ।

“हामी महिलालाई देवी भनेर पूजा गर्छौं तर यही समाजमा महिला हिंसाका धेरै घटना सुन्न र पढ्न पाइन्छ । त्यसका लागि हामीले हाम्रो कानुन नै बलियो बनाउनुपर्छ । महिला हिंसाविरुद्धको हाम्रो आवाज हो ‘देवी’ चलचित्र,”उनले भने ।

भदौ २१ गतेदेखि सार्वजनिक प्रदर्शन हुने चलचित्रमा गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुव कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्कालगायत कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *