छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु

बागमती । मकवानपुरको छुट्टाछुटै स्थानमा शुक्रवार भएका दुर्घटनामा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ । भीरबाट खसेको ढुङ्गाले लागेर मकवानपुरको बकैया गाउँपालिका–६ सानो ज्यामिरे निवासी हिरालाल थिङको आठ वर्षीया छोरी सुष्मा थिङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

विद्यालयबाट घर फर्किने क्रममा आज दिउँसो ३ बजेतिर बाटोमा एक्कासी भीरबाट खसेको ढुङ्गाले लागेर थिङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

त्यस्तै आफ्नै घरको दोस्रो तल्लाको बरण्डाबाट लडेर मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ हुप्राचौरमा एक वृद्धाको मृत्यु भएको छ । स्थानीय ७६ वर्षीय शङ्खमाया लामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–९ मास्टर चोकमा ग्यास बोकेको भारतीय गाडीले कारलाई ठक्कर दिँदा कारमा सवार तीन जना घाइते भएका छन् ।

पथलैयाबाट हेटौँडातर्फ जाँदै गरेको एनएल ०१ एल २९७१ नम्बरको भारतीय ग्यास बुलेटले विपरीत दिशाबाट आउँदै गरेको ग ३ च ८४४९ नम्बरको कारलाई ठक्कर दिँदा कारमा सवार कार चालक स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका–१ निवासी ३३ वर्षीय चुडाबहादुर विष्ट, पोखरा महानगरपालिका–११ निवासी ६३ वर्षीय पुरण श्रेष्ठ, लमजुङ बेँसीसहर नगरपालिका–८ निवासी १७ वर्षीया नेहा राना मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *