मुलुकको समृद्धिका लागि सीपयुक्त शिक्षा अपरिहार्य : मन्त्री भण्डारी

महोत्तरी । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सीपयुक्त शिक्षा समृद्धिको पहिलो खुड्किलो भएकाले नयाँ पुस्तालाई सोही अनुसारको शिक्षामा जोडिन अपिल गरेका छन् ।

मटिहानी नगरपालिका–८ स्थित राम माध्यमिक विद्यालयमा आज कक्षा १२ का छात्राहरूलाई साइकल वितरण कार्यक्रममा उनले मुलुकको समृद्धिका लागि सीपयुक्त शिक्षा अपरिहार्य रहेको बताए ।

अबको अर्जुनदृष्टि मुलुकको समृद्धि भएकाले त्यसका लागि सीपयुक्त जनशक्ति चाहिएकाले सोहीअनुसारको शिक्षा दिन विद्यालयलाई उनले आग्रह गरे ।

“मुलुकको समृद्धिका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने आवश्यकता छ । अब शिक्षालाई सीप, सीपलाई श्रम र श्रमलाई समृद्धिसँँग जोड्ने गरी सबै लागौँ । अबको पुस्ताले औपचारिक शिक्षाभन्दा प्राविधिक शिक्षामा जोड दिनुपर्छ”, मन्त्री भण्डारीले भने ।

सरकार पनि यही भावना र मार्गचित्रका साथ अघि बढेको उहाँको भनाइ थियो । मन्त्री भण्डारीले यसअघिका स्थिर सरकार हुन नसक्दा आर्थिक गतिविधि समेत बढ्न नसकेको उल्लेख गर्दै हाल त्यो अवस्था अन्त्य भएकाले निर्धक्क भएर आआफ्नो जिम्मेवारी पूरा गर्न सम्बद्ध पक्षलाई आग्रह गरे ।

अहिलेको सरकार बनेपछि राजनीतिक स्थायित्व हुने सन्देश प्रवाह भएको उल्लेख गर्दै आर्थिक गतिविधि बढेको उनले बताए । प्रधानमन्त्रीले पनि अहिलेको सरकारलाई असफल हुने छुट नरहेको बताइरहेकाले सोही अनुसार हामी सबैले आफ्नो क्षेत्रमा उत्कृष्ट काम गर्नुपर्ने मन्त्री भण्डारीले बताए ।

मटिहानी नगरपालिकाले उच्च शिक्षामा छोरीको पहुँच बढाउन वि.सं. २०७५ देखि कक्षा ११ का छात्रालाई साइकल वितरण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

नगरक्षेत्रमा कक्षा १२ सम्म पठनपाठन हुने राम माध्यमिक विद्यालयमा हालसम्म चार सय ८७ छात्राले साइकल प्राप्त गरिसकेका छन् । आज ६२ जनालाई साइकल वितरण गरिएको हो ।

नगरप्रमुख हरिप्रसाद मण्डलले अब राजकीय संस्कृत माध्यमिक विद्यालयमा ११ कक्षामा अध्ययनरत छात्राका लागि पनि लागू गरिने बताए । साइकल प्राप्त गरेकी हीना खातुनले नगरपालिकाबाट साइकल पाएपछि अब आफूहरुलाई विद्यालय आउजाउमा निकै सहज हुने बताए ।

साइकल वितरण समारोहमा श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्री र प्रधानमन्त्री रोजगार कार्यक्रमका डण्डुराज अधिकारीसहितको सहभागितता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *