लोक संस्कृतिको संरक्षणमा योगदान दिने पाँच जना सम्मानित

म्याग्दी । लोक संस्कृतिको संरक्षण र संवर्द्धनमा योगदान पुर्‍याउने पाँचजना कलाकार र पत्रकार सम्मानित भएका छन् । राष्ट्रिय लोक तथा दाहोरी गीत प्रतिष्ठानले जिल्लाका कलाकार र पत्रकारलाई शनिवार सम्मान गरेको हो ।

बेनीमा आयोजित २० औँ वार्षिक साधारणसभाका अवसरमा जिल्लाका अग्रज लोकगायक तथा संस्थाका सल्लाहकार कृष्णदत्त पौडेल, लोकगायक तथा संस्थाका पूर्वअध्यक्ष कृष्ण जिसी, लोकदोहोरी गायक तथा मोडल सज्जन बोहोरा र पत्रकार कमल खत्री र अमृत बास्कुनेलाई सम्मान गरेको हो ।

उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि प्रतिष्ठानका केन्द्रीय सहसचिव तारानाथ आचार्य, संस्थापक केन्द्रीय सदस्य तथा अग्रज लोकगायिका धनकुमारी थापा, प्रतिष्ठानका अध्यक्ष ध्रुव जिसीलगायतले दोसल्ला र सम्मानपत्र प्रदान गरी सम्मान गरेका थिए ।

जिल्लामा प्रत्यक्ष दोहोरीको विजारोपण गरी फुलाउन र पक्राउन गायक पौडेललको महत्त्वपूर्ण योगदान रहेको छ । प्रतिष्ठानमा दुई कार्यकालसम्म नेतृत्व गर्नुभएका लोकगायक जिसीले संस्थागत विकासमा महत्त्वपूर्ण भूमिका निभाएका थिए ।

हाल अमेरिका कर्मथलो बनाउनुभएका लोकदोहोरी गायक बोहोराका मालिका धुरी सालैजो, घुमौला बेनी सङ्क्रान्ति मेलैमा, वनचरी, शिरैमा शिरबन्दी, प्याउली फूल पहेँलैलगायत गीत चर्चित छन् ।

पत्रकारिताको माध्ययमबाट जिल्लामा लुकेका र ओझेलमा परेका मौलिक कला र संस्कृतिको उजागर गर्ने क्षेत्रमा राष्ट्रिय समाचार समितिका म्याग्दी प्रतिनिधि खत्री र गोरखापत्रका जिल्ला संवाददाता बास्कुनेले खेलेको भूमिकाको कदर गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *