वन व्यवस्थापनमा जोड दिन्छौँ : मुख्यमन्त्री सिंह

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले वृक्षरोपण गरी दिगो वन व्यवस्थापनबाट विश्व्यापी रूपमा भइरहेको हरितगृह ग्याँस उत्सर्जन घटाउन प्रदेश सरकार गम्भीर रहेको बताएका छन् ।

यहाँको बटेश्वर गाउँपालिकाको ८२ बिघा क्षेत्रफलमा लगाइएको छ हजार आँपको बोट फँडानी गरी सोलार प्लान्ट लगाउन जग्गा भाडामा दिने किसानका बाध्यताबारे मुख्यमन्त्री सिंहलाई ध्यानाकर्षण गराउन पुगेका अभियन्ताहरुसँग कुरा गर्दै उनले वन व्यवस्थापनमा जोड दिइने बताएका हुन् ।

आइतबार जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ध्यानाकर्षणपत्र बुझाएका फुलगेन मगहीसहितका अभियन्तालाई मुख्यमन्त्री सिंहले सोलार प्लान्टका लागि कृषि प्रयोजनबाट बाँकी रहने नदी उकास जग्गा दिने विषयमा गृहकार्य भइरहेको बताए । सोलार प्लान्ट राष्ट्रिय प्रसारण ग्रिडको निश्चित दूरीमा रहनुपर्ने कारण समस्या भएपनि समाधान खोजिने उनले बताए ।

मधेस प्रदेशमा आँपको पकेट क्षेत्र प्रवर्द्धनका लागि सरकारले आवश्यक पूर्वाधार विकासलगायत काम गरिरहेको मुख्यमन्त्री सिँहले जानकारी दिए । उनले बटेश्वर क्षेत्रमा कृषि विद्युतीकरण तथा डिप बोरिङमार्फत सिँचाइ व्यवस्थापन र आँप भण्डारण गर्न कोल्ड स्टोर बनाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको बताए ।

मुख्यमन्त्री सिंहलाई बुझाइएको ज्ञापनपत्रमा आँप किसान लक्षित गरी बटेश्वर गाउँपालिकामा कोल्डस्टोर निर्माण, नीलगाई व्यवस्थापन, नमूना पकेट क्षेत्र घोषणाअनुसार किसानलाई अनुदान र आँपखेतीका लागि विशेष अनुदानमा कीटनाशक औषधि, मलखाद र उपकरणको व्यवस्था, सिँचाइ तथा बजार व्यवस्थापन गरिदिन प्रदेश सरकारसँग आग्रह गरिएको छ ।

बटेश्वर नगरपालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना समेत सञ्चालनमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *