गरिमा विकास बैंक ‘सम्पत्ति गुणस्तरमा उत्कृष्ट बैंक’अवार्डबाट सम्मानित
काडठमाडौं । भारतीय चेम्बर अफ कमर्सद्वारा भारतको नयाँ दिल्लीमा आयोजित 2nd Emerging Asia Banking Conclave and Award कार्यक्रममा गरिमा विकास बैंक लिमिटेड ’सम्पत्ति गुणस्तरमा उत्कृष्ट बैंक’अवार्डबाट सम्मानित भएको छ ।
उक्त प्रतिस्पर्धामा बिम्स्टेक (BIMSTEC) देशहरू नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान र म्यानमारका बैंक तथा वित्तीय संस्थाहरूको सहभागिता रहेको थियो ।
कर्जा तथा अन्य लगानीको गुणस्तर उत्कृष्ट रहेका बैंक तथा वित्तीय संस्थाहरूले प्राप्त गर्ने उक्त अवार्डको प्राप्तिसंगै गरिमा विकास बैंकले प्रवाह गर्ने कर्जा तथा अन्य लगानीको गुणस्तर उत्कृष्ट रहनुका साथै सुरक्षित समेत रहेको संकेत विकास बैंकले महशुस गरेको छ ।
कार्यक्रममा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री माधव प्रसाद उपाध्याय र ट्रान्जेक्सन बैंकिङ्ग ईकाई प्रमुख श्री नकुल पौडेलको उपस्थिति रहेको थियो ।
सो अवसरमा आयोजित Driving Efficiencies Across the Value Chain विषयक Panel Discussion कार्यक्रममा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्री माधव प्रसाद उपाध्याय Development Bankers Association, Nepal को समेत प्रतिनिधित्व गरी वक्ताको रुपमा सहभागी थिए ।
सो कार्यक्रममा उनले नेपालको बैंकिङ्ग परिदृष्य, बैंकिङ्गमा प्रविधिको प्रयोग र आगामी चुनौतीको सम्बन्धमा आफ्नो धारणा समेत प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रममा गरिमा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायसङै बैंक अफ भुटानका प्रमुख कार्यकारी अधिकृत दोर्जी कादिन, स्टेट बैंक अफ इन्डियाका चिफ जनरल म्यानेजर राजिव रञ्जन प्रसाद र न्यूजेन सफ्टवेयर टेक्नोलोजी प्रा.लि.का उपाध्यक्ष तथा दक्षिण एशिया व्यवसाय प्रमुख सुनिल पण्डित मुख्य वक्ताको रुपमा रही वक्ताहरूले आफ्नो धारणा प्रस्तुत गरेका थिए ।
सो कन्क्लेभमा श्रीलंकाको केन्द्रीय बैंकका डेपुटी गभर्नर र बंगलादेशको केन्द्रीय बैंकका कार्यकारी निर्देशक समेत वक्ताको रुपमा सहभागी रहेका थिए ।
काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर र ५० ATM मार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आइरहेको छ ।