कर्णाली प्रज्ञा–प्रतिष्ठान गठनका विषयमा छलफल

काठमाडौ । कर्णाली प्रदेशमा प्रज्ञा–प्रतिष्ठान स्थापनाका लागि सुझाव सङ्कलन गरिएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले नेपाल प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा आइतबार छलफल कार्यक्रम आयोजना गरी कर्णाली प्रदेश सांस्कृतिक नीति र प्रज्ञा–प्रतिष्ठान गठनका सम्बन्धमा विज्ञसँग सुझाव माग गरेको हो ।

प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले कर्णाली प्रज्ञा–प्रतिष्ठानको महत्व दर्शाउँदै प्रतिष्ठान गठन प्रक्रिया र सांस्कृतिक नीतिबारे विज्ञहरूसँग सुझाव माग गरे ।

उनले संवैधानिक अधिकार प्राप्त भए पनि प्रदेशमा प्रतिष्ठान गठनले अझै पूर्णता पाउन नसकेको उल्लेख गर्दै यही कार्यकालमा प्रतिष्ठान स्थापना गर्ने र कर्णालीका संस्कृति संरक्षणमा जनसहभागिता बढाउने उद्देश्य रहेको बताए ।

खस भाषाको उद्गमस्थल कर्णाली प्रदेशको मौलिकता हराउँदै गएको बताउँदै पुरातात्विक महत्वका सम्पदा, कला संस्कृति र यहाँको जनजीवन जीवन्त राख्न प्रतिष्ठान महत्वपूर्ण रहेको मन्त्री भण्डारीले उल्लेख गरे । स्थापना गरिने प्रतिष्ठानको संरचना कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे विज्ञहरूका सुझाव लिएर अघि बढ्ने उनले बताए ।

उनले विज्ञहरूमाझ ‘कर्णाली प्रज्ञा–प्रतिष्ठान स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृतिका लागि तयार पारिएको अवधारणा पत्र’ प्रस्तुत गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस) का पूर्वअध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले कर्णाली प्रज्ञा–प्रतिष्ठानको आवश्यकता औँल्याउँदै संरचनागत स्वरूप र सञ्चालन गर्ने शैली (मोडल) समयानुकूल हुनुपर्नेमा जोड दिए ।

भाषा आयोगका सदस्य उषा हमालले कर्णालीको भाषा, कला, संस्कृतिको अनुसन्धान गर्न त्यहाँकै जनशक्ति परिचालन गर्नुपर्ने धारणा राखिन् । नेपाल पत्रकार महासङ्घका कोषाध्यक्ष कलेन्द्र सेजुवालले प्रतिष्ठानको उद्देश्य पूरा गर्न सञ्चारमाध्यमसँग सहकार्यका लागि सुझाव दिए ।

प्रा.डा. प्रेम खत्रीले संस्थागत संरचनामा बढी राजनीतिरण हुँदा कार्यसम्पादनमा बाधा आउने गरेको अनुभव सुनाउदै कर्णाली प्रज्ञा–प्रतिष्ठानको संरचनालाई प्राज्ञिक केन्द्रित बनाउन आग्रह गरे । छलफलमा सहभागी विषयगत विज्ञहरूले प्रतिष्ठानको गठन प्रक्रियाबारे विभिन्न सुझाव दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *