कोशी प्रदेशमा भदौ १२ भित्र मन्त्रिमण्डल विस्तार हुन्छ : मुख्यमन्त्री कार्की
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यही भदौ १२ गतेभित्र प्रदेशमा मन्त्रिमण्डल विस्तार हुने बताएका छन् । विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नेपाली कांग्रेसले मन्त्रीको नाम दिनासाथ मन्त्रिमण्डल विस्तार गर्ने जानकारी दिए ।
यही भदौ १४ गतेदेखि सुरू हुने प्रदेशसभा बैठकमा सहभागी हुने गरी सबै मन्त्री नियुक्त हुने मुख्यमन्त्री कार्कीले बताए । विगतमा भएको सहमतिअनुसार प्रदेशमा मन्त्रालयको सङ्ख्या वृद्धि नहुने र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट मुख्यमन्त्रीसहित पाँच र कांग्रेसबाट चार मन्त्री रहनेसमेत उनले स्पष्ट पारे । एक/दुई राज्यमन्त्री थप हुन सक्ने सम्भावना रहे पनि पूर्वसहमतिअनुसार बाँकी मन्त्री रहने उनले बताए ।
पहिचानवादीहरूका मागका सन्दर्भमा सञ्चारकर्मीहरूले राखेको जिज्ञासामा उनले प्रदेशको नामकरण भइसकेकाले परिवर्तन नहुने र मन्त्री रामबहादुर रानाको नेतृत्वमा रहेको वार्ता टोलीले आवश्यकतानुसार विभिन्न विषयमा वार्ता गर्ने बताए ।