घुम्ती कोषबाट विपन्न परिवारको आर्थिक अवस्थामा सुधार
कञ्चनपुर । कृष्णपुर नगरपालिका–६ वञ्जरीयामा रहेको महाकाली सामुदायिक वन उपभोक्ता समूहले सञ्चालन गरेको घुम्ती कोषबाट विपन्न परिवारको आर्थिक अवस्था सुधारमा सहयोग पुगेको छ ।
सामुदायिक वनले तीन वटा टोल समिति गठन गरी रु ३० लाखको घुम्ती कोष सञ्चालन गरेको छ । घुम्ती कोषको रकम ऋणका रूपमा लिएर विपन्न परिवारले तरकारी खेती, बाख्रा, बङ्गुर र कुखुरापालनसँगै सीप तथा आयमूलक कार्यक्रम अगाडि बढाउँदै आएका छन् । जसले आफूहरूको आर्थिक अवस्था सुधारमा सहयोग पुगेको सदस्यहरूको भनाइ छ ।
सामुदायिक वनको क्षेत्रभित्र पर्ने बस्तीलाई तीन वटा टोलमा विभाजन गरेर काम भइरहेको सामुदायिक वनका अध्यक्ष वीरबहादुर राजवंशीले बताए । जसमा वसन्तपुर, उत्तर वन्तरिया, दक्षिण वन्तरिया गरी तीन टोल समिति गठन गरी प्रत्येक टोल समितिलाई रु १० लाखका दरले घुम्ती कोष सञ्चालनका लागि रकम उपलब्ध गराइएको उनले बताए ।
टोल समितिका पदाधिकारीको निर्णयअनुसार विपन्न परिवारको आर्थिक अवस्थामा सुधार ल्याउन व्यावसायिक कार्यका लागि माग गरेअनुरूप निश्चित समयका लागि ऋण उपलब्ध गराउने कार्य हुँदै आएको टोल समितिमा आबद्ध सीता चौधरीले बताइन् ।
चार वर्ष अघिदेखि सञ्चालन हुँदै आएको घुम्ती कोषबाट रकम लगानी गरी टोलका अधिकांश विपन्न परिवारको आर्थिक अवस्थामा सुधार आएको उनको भनाइ छ । विपन्नता हटाउने कार्यमा घुम्ती कोषले खेलेको भूमिका निकै सकारात्मक रहेको उल्लेख गर्दै कोषबाट टोल समितिमा आबद्ध सदस्यलाई रु एक लाखदेखि रु तीन लाखसम्मको ऋण उपलब्ध गराउने व्यवस्था रहेको चौधरीले बताइन् ।
कोषबाट ऋण लिएका परिवारले व्यावसायिक कार्य गरी महिनामा रु २० हजारदेखि रु ३० हजारसम्म आम्दानी गर्दै आएका छन् । यहाँ कोषको ऋण लगानीबाट ३० परिवारले बङ्गुरपालन, ५६ परिवार बाख्रापालन, २० भन्दा बढी परिवारले माछापालन गरिरहेका सामुदायिक वनका अध्यक्ष राजवंशीले जानकारी दिए ।
टोल समितिमा आबद्ध अन्य परिवारले पनि सीपमूलक आयआर्जनका कार्यक्रम सञ्चालन गरी आम्दानी लिदै आएका छन् । तीनवटै टोल समितिमा दुई सय २८ जना उपभोक्ता आबद्ध छन् । सामुदायिक वनले काठ, दाउरा, घाँसबाट वर्षमा रु ४५ लाखसम्म सङ्कलन गर्दै आएको छ ।
सोही रकमबाट घुम्ती कोषसँगै सामाजिक तथा वन विकासको क्षेत्रमा सामुदायिक वनले लगानी गर्दै आएको छ । टोल समितिमा आबद्ध परिवारको आर्थिक अवस्था सुधार गर्न सामुदायिक वनले सञ्चालन गरेको घुम्ती कोषले सकारात्मक भूमिका खेलेको वडा नम्बर ६ का वडाध्ध्यक्ष बाबुराम चौधरीले बताए ।
यस कार्यमा वडा कार्यालय पनि साझेदारी गर्न इच्छुक रहेको उनको भनाइ छ । घुम्ती कोषमार्फत विपन्न नागरिकको आर्थिक अवस्था सुधारमा लगानी गर्ने योजना अत्यन्त प्रभावकारी रहेको बताउँदै यसकार्यमा स्थानीय तहले पनि सहयोग गर्न आवश्यक रहेको वडाध्यक्ष चौधरीले बताए । वडा कार्यालयले पनि आवश्यक सहकार्यका लागि सोच बनाइरहेको उनले बताए ।
सामुदायिक वन वि.सं. २०५५ मा स्थापना भएको हो । एक सय ९७ दशमलव ५७ हेक्टर क्षेत्रफमा रहेको यस वनमा दुई सय ४२ उपभोक्ता आबद्ध छन् ।