जङ्गली हात्तीबाट बाली जोगाउनै मुस्किल,अपनाइयो यस्तो जुक्ति

झापा । जङ्गली हात्तीबाट धानबाली जोगाउन कोशी प्रदेशमा पहिलोपटक ‘मोबाइल फेन्सिङ’ लगाउन सुरु गरिएको छ ।

मेचीनगर नगरपालिका वडा नम्बर १ र ४ को पाँच सय बिघा जमिनमा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को आर्थिक सहयोग र उज्यालो नेपाल बर्दियाको प्राविधिक सहयोगमा मोबाइल फेन्सिङ (घुम्ती घेराबेरा) सुरु गरिएको वडा नम्बर ४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले बताए ।

उनले मोबाइल फेन्सिङका कारण तीन सयभन्दा बढी किसानको धानबाली हात्तीबाट जोगाउन सकिने बताए । “धान पाक्न सुरु भएपछि भारतबाट हुल बाँधेर आउने जङ्गली हात्तीबाट जोगाउन मुस्किल छ”, उनले भने,“किसानहरूको बाली जोगाउन मोबाइल फेन्सिङ गरेका हौँ । कति सफल हुन्छ हेर्न बाँकी छ ।”

मेचीनगर नगरपालिका–४ को आलेटुङ्गबाट आमडाँगी बिजुवासम्म मेचीखोलातर्फको धानखेतीमा तीन बिघा तीनतिरबाट फेन्सिङ गरेर घेरिने उनले बताए । वडा नम्बर १ मा दुई सय बिघा यसैगरी घेराबेरा गरिने उनले बताए ।

उनले स्थानीय क्षेत्रमा पाइने बाँसको पोल, खानेपानीको पाइप र विद्युत् प्रवाह हुने नाङ्गो तारबाट फेन्सिङको संरचना निर्माण गरिएको जानकारी दिए । सौर्य ऊर्जामार्फत सञ्चालित यो प्रविधि हात्ती धपाउन यसअघि बर्दिया जिल्लामा मात्र प्रयोग भएको थियो ।

यसबाट प्रवाह हुने विद्युतीय करेन्टले बाली खान आउने हात्तीलगायत जनावरलाई झट्का दिएर धपाउने उनले जानकारी दिए । उज्यालो नेपाल बर्दियाका प्रतिनिधि रमेशकुमार थापाले बर्दियाको मधुवन नगरपालिकामा यो प्रविधिको सफल परीक्षण भइसकेको हुँदा झापामा पनि प्रयोग गरिएको बताए । इसिमोडको रु १३ लाखको आर्थिक सहयोगमा मोबाइल फेन्सिङ गरिएको उनले बताए ।

बर्दियामा पहिलोपटक गरिएको परीक्षणमा सफल भएको जानकारी दिँदै दोस्रोपटकको यो परीक्षणमा पनि सफल हुने उनले बताए । धानखेती मात्र नभएर अन्य खेतीमा समेत सो प्रविधिको प्रयोग गर्न मिल्ने हुँदा आवश्यकतानुसार यसलाई ठाउँ सारेर प्रयोग गर्न मिल्ने उनको भनाई छ ।

हाल झापाको जङ्गल वरिपरि सयौँ किलोमिटर लामो स्थायी सोलार फेन्सिङ निर्माण भइसकेको छ । भारतबाट हात्तीको हुल प्रवेश गर्न नसकोस् भनेर मेची नदीको किनारस्थित मेचीनगर–१, २, ३ र ४ मा १९ किलोमिटर लामो स्थायी सोलार फेन्सिङ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *