काशी प्रदेशसभाको बैठक बस्दै, प्रदेश निजामती सेवा ऐन संशोधनका लागि पेस हुने

विराटनगर । काशी प्रदेश सभाको लामो समयदेखि स्थगित बैठक आजदेखि सुरु हुँदैछ । आर्थिक वर्ष २०८१।०८२ को बजेट नीति तथा कार्यक्रम पारित गरेपछि अनिश्चित बनेको प्रदेश सभाको बैठक शुक्रवार दिउँसो १ बजे बस्दैछ ।

कोशी प्रदेश सभा सचिवालयले २०८१ भाद्र ४ गते सूचना प्रकाशित गरी प्रदेश सभाको बैठक २०८१ भाद्र १४ गते शुक्रवार दिउँसो १ बजे कोशी प्रदेश सभा हल विराटनगरमा बस्ने जानकारी गराएको थियो । कोशी प्रदेश सभा नियमावली २०७४ को नियम ६को उपनियम (३) बमोजिम प्रदेश सभा सदस्यहरूलाई आज दिउँसो बैठक बस्ने भनिएको छ ।

कार्य व्यवस्था परामर्श समितिको बैठकले प्रदेशको निजामती सेवा ऐनलाई संशोधन सहित पारित गर्ने तयारी गरेको छ। विवादित बन्दै गएको प्रदेश निजामती सेवा ऐनलाई हतारमा संशोधन सहित पारित गर्नु नहुने सांसदहरूले बताउँदै आएका छन् । निजामती सेवा ऐनमा धेरै समस्या रहेको भन्दै बैठकमा ऐन पटक पटक संशोधन गर्नु भन्दा एकै पटक छलफल गरेर लग्नु पर्ने विषय उठेको थियो ।

राजनीति सहमतिको आधारमा प्रक्रिया अनुसार प्रदेश निजामती सेवा ऐनलाई संशोधन सहित पारित गरिने नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले जानकारी दिए । प्रदेश निजामती सेवा ऐनमा लेखा समूहका कर्मचारीको आन्दोलनलाई सम्बोधन गर्ने गरि संशोधन गरिएको छ। लेखा समूहको वृत्तिविकास नै रोकिएको भन्दै सो समूहका कर्मचारी लामो समयदेखि आन्दोलित छन् ।

आज प्रदेश सभामा पेस हुने प्रदेश निजामती सेवा ऐनलाई सैद्धान्तिक छलफलपछि ७२ घण्टाको संशोधनको समय दिएर १९ गते पारित गर्ने गरी कार्य व्यवस्था समितिमा छलफल भएको नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले बताए । कर्मचारीहरूको मनोबल उच्च राख्ने गरि ७२ ७२ घण्टाको संशोधनलाई समय दिइने र त्यही बेला दलीय सहमतिको आधारमा ऐन संशोधन भएर जाने उनले बताए । निजामती सेवा ऐन र प्रदेशको सहकारी ऐन संशोधन कोलागि पनि प्रदेश सभामा पेस गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *