काँग्रेस र कम्युनिष्टको भरमा अब देश चल्न सक्दैन : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली काँग्रेस र कम्युनिष्टको भरमा अब देश चल्न नसक्ने बताएका छन् ।

जसपा, नेपालको आधार संगठन निर्माण अभियान अन्तर्गत शनिवार जनकपुरधाममा आयोजित अभिमुखिकरण कार्यक्रमलाई सम्बोन गर्दै अध्यक्ष यादवले काँग्रेस र कम्युनिष्ट मिलेर देशलाई खोक्रो बनाएको आरोप लगाए ।

उनले बहुदलीय व्यवस्था आएको ३५ वर्षमा ३० वर्षभन्दा बढी समय काँग्रेस र कम्युनिष्ट मिलेर देश चलाएको बताउँदै उनले विकासका हरेक सूचक ध्वस्त हुनुमा काँग्रेस र कम्युनिष्ट नै दोषी रहेको बताए ।

उनले यो अवधिमा देशको शैक्षिक स्तर, कृषिको अवस्था तथा औद्योगिकरण लगायतका सबै क्षेत्र ध्वस्त हुँदै जाँदा देश नै खोक्रो भएको बताए ।

उनले भने– ‘कांग्रेस तथा कम्युनिष्टहरुको शासनकालमा देशमा शिक्षा बर्बाद भएको छ, किसानहरु कृषि पेशाबाट पलायन भएर वैदेशिक रोजगारमा जान बाध्य भएका छन्, लाखौँ नेपाली नागरिकलाई रोजगारी दिएको उद्योग कलकारखाना ध्वस्त भएका छन् । अहिले पनि दलित समुदायको साथमा न्याय भएको छैन । अहिले पनि दलित, महिला, आदिवासी, जनजाति, मुस्लिम, थारु समुदायलाई यथोचित न्याय हुन सकेको छैन । अहिले पनि यो वर्ग राज्यबाट अपहेलित र अपमानित छ । अहिले पनि संघीय प्रणालीमा सुशासन छैन । मधेसको भूमिमा मधेसीकै शासन र प्रशासन हुनुपर्छ ।’

अध्यक्ष यादवले मुलुकले अहिले कमिसनतन्त्र, लुटतन्त्र तथा भ्रष्टतन्त्रमा ठूलै प्रगति गरेको आरोप लगाए । भ्रष्टतन्त्र, लुटतन्त्र तथा कमिसनतन्त्रको विकास हुनुमा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) को ठूलो भुमिका रहेको आरोप लगाए ।

अर्को प्रसंगमा अध्यक्ष यादवले मधेसले प्राप्त गरेको उपलब्धि मात्र नभई देश नै संकटमा फस्ने खतरा समेत रहेको दाबी गरे ।

साना दलहरुलाई समाप्त पार्ने हिसावले देशमा समानुपातिक प्रणाली हटाउने षड्यन्त्र चलिरहेको उनको आरोप लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *