बगानभित्र नाबालिका दिदीबहिनीको शव, आमा सम्पर्कविहीन

मोरङ । मोरङको सुन्दरहरैंचामा केरा बगानभित्र एकै घरका नाबालिका दिदीबहिनीको शव फेला परेको छ । सुन्दरहरैंचा नगरपालिका-७ स्थित नारायण न्यौपानेको केरा बगानभित्र शनिबार दिउँसो ४ः३० बजेतिर एकै घरका नाबालिकाहरु मृत भेटिएका हुन् ।

धनकुटा घर भएका ३१ वर्षीय अर्जुन कार्कीका छोरीहरु १ वर्षीया अर्पणा कार्की र ३ वर्षीया आयिका कार्की छिमेकीको केरा बगानभित्र मृत भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । अर्जुनकी श्रीमती २९ वर्षीया अस्मिता न्यौपाने भने सम्पर्कविहीन छन् । केरा बगानभित्र दुई बालिकाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

धनकुटा पाख्रिबास नगरपालिका-४ डिकुरेका अर्जुन केही समयदेखि पत्नी र दुई नाबालिका छोरीसहित मोरङ सुन्दरहरैंचा-७ मालती टोलस्थित दिदी सीता रेग्मीको घरमा बस्दै आएको पाइएको छ । अर्जुनले नजिकै नयाँ घर पनि बनाउँदै थिए । उनीसँग शुक्रबार साँझ पत्नी अस्मिताको विवाद भएको पाइएको प्रहरीले जनाएको छ ।

श्रीमानसँग विवाद भएपछि नाबालिका छोरीहरुलाई लिएर राति ८ः३० बजेतिर अस्मिता घरबाट निस्केको प्रारम्भिक अनुसन्धानमा खुलेको डीएसपी बस्नेतले बताएका छन् । दुवै नाबालिकाको शव अंगालो मारेको अवस्थामा आज केरा बगानभित्र भेटिएको हो ।

सम्पर्कविहीन बनेकी आमा अस्मिताको खोजी तीव्र पारिएको छ । बालिकाका बुवा अर्जुन प्रहरीको सम्पर्कमै छन् । शव पोस्टमार्टमका लागि अस्पताल लगिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *