नाडा अटो शो सम्पन्न : ८२ हजार बढीले गरे अवलोकन,अन्य वर्षभन्दा उत्कृष्ट रहेको प्रतिक्रिया

काठमाडौं । ‘नाडा अटो शो’ २०२४ सम्पन्न भएको छ । टाटा डटइभिद्धारा प्रायोजित ‘नाडा अटो शो’ आइतबार सम्पन्न भएको हो । १६ औं संस्करणको ‘नाडा अटो शो’को ८२ हजार ४ सय ७० दर्शकहरुले अवलोकन गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले समेत ‘नाडा अटो शो’ को अवलोकन गरेका थिए ।

व्यवस्थित रुपमा सञ्चालित यस सवारी साधन प्रदर्शनी मेलामा श्रृंगारिएका स्टल र अन्तर्राष्ट्रिय स्तरमा परिचित नयाँ मोडेलका सवारी साधनहरुका कारण अन्य वर्षहरुमा भन्दा निकै भव्य देखिएको थियो । थुप्रै नयाँ ब्रान्डका विद्युतीय सवारी साधनहरुको सहभागिताका कारण प्रदर्शनीमा दर्शकहरुको निकै भिड लागेको थियो ।

यस वर्षको अटो शो बिगतका वर्षहरु भन्दा निकै भव्य र बृहत भएको दर्शकहरुले बताएका छन् । अत्यन्तै सुस्ताइरहेको अटोमोवाइल व्यवसायका बावजुद पनि आयोजना गरिएको अटो शोले देशको अर्थ व्यवस्थालाई चलायमान बनाउन सहायक सिद्ध भएको छ ।

यस पटकको अटो शोमा सबै कम्पनीहरुले स्टल निर्माणमा निकै मेहनत गरेको देखिएको थियो । प्रदर्शनीमा उत्कृष्ट चारपाङ्ग्रे सवारीसाधनको स्टल सि.जि मोेटर्स प्रालि रीडराले जितेको छ भने उत्कृष्ट दुईपाङ्ग्रे सवारी साधनतर्फको स्टल ब्रैद्य इनर्जि प्रा.लि अथेरले जितेको छ ।

त्यस्तै लाइट कमर्सियल साधनको बेष्ट स्टल अवार्ड एम.ए.डब्लु प्र्रालि सोकोनले जितेको छ । यसैगरी उत्कृष्ट कम्पोनेण्टको पुरस्कार सत्यदिप इण्टरनेशनल प्रा.लि भिडोलले जितेको छ ।

नाडाले उत्कृष्ट स्टलहरुको छनोट गर्न नाडाका सहकोषाध्यक्ष पंकज अग्रवाल, जाम र इमानका प्रतिनिधि तथा नाडा अटो शो को सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी पाएको ग्लोवल एक्सपोजिशन एण्ड मेनेजमेण्ट सर्विस प्रा.लिका प्रतिनिधि समेत सदस्य रहनेगरी चार सदस्यीय उत्कृष्ट स्टल छनोट समिति गठन गरेको थियो ।

अटो शो को सहप्रायोजकमा शिखर इन्स्योरेन्स, टिकेटिङ्क पार्टनरमा खल्ती, अफिसियल इण्टरनेट पार्टनरमा वल्डलिङ्कले गरेको थियो । यस वर्षको थप आकर्षणमा हिरो जुम स्कुटरले लक्की ड्र गरी एक जना भाग्यशाली अवलोकनकर्तालाई उपहार दिने व्यवस्था समेत गरेको थियो ।

विजेताले आफनो टिकट सहित नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको सचिवालय टेकुमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ । प्रदर्शनी मेलामा ट्राफिक व्यवस्थापनको कार्य काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी महाशाखाले गरेको थियो ।

प्रदर्शनीको फायर सेफ्टीको सम्पूर्ण कार्य नाडा कै सदस्य कम्पनी हिटको प्रा.लिले गरेको थियो भने प्रदर्शनीको प्रचार प्रसारको कार्य एभरेष्ट एडले गरेको थियो ।

                                               रक्तदान कार्यक्रमको आयोजना

नाडाले अटो शोका अवसरमा रक्तदान कार्यक्रम समेत आयोजना गरेको थियो । नाडा केन्द्रीय कार्य समिति सदस्य प्रकाश कपुरीको संयोजकत्वमा सम्पन्न रक्तदान कार्यक्रमा ६३ जनाले रक्तदान गरेका थिए । रक्तदान गर्न इच्छुक धेरै भएपनि ६३ जना मात्रै रक्तदानका लागि योग्य भएका कपुरीले बताए ।

समापन कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरी, निबर्तमान अध्यक्ष डा.ध्रुव थापा, पूर्व अध्यक्ष,बरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, प्रदेश उपाध्यक्षद्धय पुस्कर ओझा,राजन बाबु श्रेष्ठ तथा निराकार श्रेष्ठ,महासचिव सुरेन्द्र कुमार उप्रेती, सचिव विक्रम सिंहानिया,कोषाध्यक्ष मिलन बाबु मल्ल,सह कोषाध्यक्ष पंकज अग्रवालले १ सय ३५ कम्पनीहरुलाई मोमेण्टो वितरण गरेका थिए ।

समापन कार्यक्रमममा बोल्दै नाडाका अध्यक्ष करण चौधरीले नाडा अटो शो २०२४ लाई सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्णलाई धन्यवाद दिए । ‘नाडा अटो शो’मा जाम र इमानकातर्फबाट टक शो कार्यक्रमहरु समेत सञ्चालन गरिएको थियो ।

गत मंगलबारदेखी काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको ‘नाडा अटो शो’ आइतबार सम्पन्न भएको हो । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले ‘नाडा अटो शो’ को उद्धघाटन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *