मेची भन्सारबाट निर्यात घट्यो

झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनमा एक अर्ब ८० करोड ८२ लाख ९९ हजार बराबरको मालवस्तु निर्यात गरेको छ । जुन गत आव २०८०/८१ को सोही अवधिको तुलनामा ३३ दशमलव ९८ प्रतिशत अर्थात् ९३ करोड सात लाख ३५ हजारले घटेको हो ।

कार्यालयका सूचना अधिकारी गणपति कँडेलकानुसार गत आवको साउन महिनामा दुई अर्ब ७३ करोड ९० लाख ३४ हजार बराबरको मालवस्तु निर्यात भएको थियो । झापाबाट चिया, प्लाइउड, फलाम तथा फलामका सामग्री, अलैँची, अदुवा, अम्रिसो, भेनियर सीट, छुर्पी, मोलासिस, काउली, बन्दागोभी, ब्रोकाउली लगायतका मालवस्तु निर्यात हुने गरेका छन् ।

प्राप्त विवरणअनुसार गत साउनमा ५१ करोड २२ लाख ७८ हजारको चिया निर्यात हुँदा ३७ करोड ११ लाख १३ हजार बराबरको प्लाइउड निर्यात भएको छ, जुन गत आव २०८०/८१ को तुलनामा क्रमशः ३८ दशमलव ०८ र ४३ दशमलव ४९ प्रतिशतले बढी हो ।

यसैगरी गत साउनमा १६ करोड १२ लाख ५२ हजार बराबरको अलैँची र ३४ करोड ९२ लाख ५९ हजार बराबरका फलाम तथा फलामका सामग्री निर्यात भएको भन्सार कार्यालयले जनाएको छ । गत आवको साउन महिनाको तुलनामा यो ८३ दशमलव २८ प्रतिशत र २९ दशमलव ७६ प्रतिशतले घटेको हो ।

यस्तै, भेनियर सिटको निर्यात सबैभन्दा धेरै पाँच सय तीन दशमलव ९७ प्रतिशतले बढ्दा छुर्पी, अदुवा, अम्रिसो, काउली, बन्दागोपी, ब्रोकाउलीलगायतका वस्तुको निर्यात घटेको मेची भन्सार कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *