सवारी दुर्घटना : तीन वर्षमा सात जनाको मृत्यु

हुम्ला । जिल्लामा तीन वर्षको अवधिमा ३३ वटा सवारी दुर्घटना भएका छन् । उक्त दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा पाँच वटा सवारी दुर्घटना भएका थिए ।

सो आवमा एक बालकको जीप दुर्घटनामा मृत्यु भएको थियो । दुर्घटनामा छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताए ।

आर्थिक वर्ष २०७९/०८० मा विभिन्न दश वटा सवारी दुर्घटना भएका थिए । सो आर्थिक वर्षमा दुर्घटनामा परी दुई जनाको ज्यान गएको थियो । जीप चार, ट्याक्टर पाँच र स्काभेटर एक दुर्घटनामा परेका थिए । सोही आर्थिक वर्षमा महिला पुरुष गरी २४ जना घाइते भएका थिए ।

आर्थिक वर्ष २०८०/०८१ मा १८ वटा सवारी दुर्घटना भएका थिए । दुर्घटनामा परी महिला एक, बालक एक र पुरुष दुई गरी चार जनाले ज्यान गुमाएको तथ्याङ्क जिल्ला प्रहरी कार्यालयमा छ । सबैभन्दा बढी यही आवमा दुर्घटना भएको थियो । सो आवमा ३५ जना दुर्घटनाकै कारण घाइते भएका थिए ।

तीन वर्षको तथ्याङ्कमा हरेक वर्ष घाइते हुनेको सङ्ख्या बढ्दो देखिएको छ । तीन वर्ष अवधिमा जिल्लामा सवारी दुर्घटनामा परी जम्मा ६५ जना घाइते भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *