टुँडिखेलमा युवाहरुले विरोध जनाउनु शुभ संकेत होइन,सच्चिनुस् : राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले गौरा पर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा युवाहरुले जनाएको विरोध शुभ संकेत नभएको बताएका छन् ।

मङ्गलवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै अध्यक्ष लिङ्देनले युवाहरुको विरोधलाई सरकारले सकारात्मक रुपमा लिनुपर्ने भन्दै सरकारले आक्रोश देखाउनु गलत भएको बताए ।

उनले सरकारले विरोध गर्ने युवाहरुलाई पक्राउ गरेर दमन गर्न नसक्ने बताए । उनले जनताले अहिलेको व्यवस्था र सरकारमा चित्त नबुझाएको कुरालाई मनन गर्न पनि प्रधानमन्त्रीलाई आग्रह गरे ।

उनले भने, ‘एनसेल एउटा दुहुनो गाई छ केही वर्षका लागि । एनसेललाई किस्तावन्दीमा कर तिर्ने सुविधा दिइसक्यो । किन त्यस्तो हुन्छ होला ? किन यहाँ मात्रै व्यापारीहरु कर तिर्न अप्ठ्यारो मान्छन् ? किन यहाँ मात्रै ति व्यापारीहरु विवादमा पर्छन् । एक्जियाटा कम्पनीको व्यापार मलेसिया, कम्बोडिया लगायत थुप्रै देशमा छन् । तर त्यहाँ नेपालमा जस्तो कर सम्बन्धी विवाद आउँदैन । यहाँ मात्रै किन विवाद आउँछ ? अस्ति भर्खरै खुल्लामञ्चमा केही युवाहरुले विरोध जनाए । त्यसलाई सरकारले सकारात्मक रुपमा लिनुपर्ने । अथवा हामीले सुध्रिनुपर्ने थुप्रै कुराहरु रहेछन् भनेर त्यसलाई गम्भिरतापूर्वक लिनुपर्ने ठाउँमा त्यहाँ सरकारको तर्फबाट जुन किसिमको आक्रोश देखियो । पछिल्लो दिनमा जुन प्रकारका धरकपटका प्रयासहरु भए, म सरकारमा रहनुभएका सबैलाई भन्न चाहान्छु, सरकारको नेतृत्वलाई भन्न चाहन्छु, यो शुभ संकेत होइन । यसलाई तपाईले पक्रेर र कुनै मञ्चमा ठूलो स्वरले बोलेर दमन गरेर जान सक्नुहुन्न । यो जनताको आवाजलाई स्वीकार गर्नुस् कि अहिले जनताले सरकारक अथवा अहिलेको व्यवस्थामा चित्त बुझाइराखेका छैनन् । र जनता विकल्प खोजिराखेका छन् भन्ने कुरालाई गम्भिरतापूर्वक लिनुस् र आफूलाई सच्याउनुस् । विगतका गलत क्रियाकलापहरु नदोहोर्‍याउनुस् ।’

उनले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई जग्गा उपलब्ध गराउन सरकारसँग माग समेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *