गुणस्तरहीन खाद्यपदार्थ उत्पादन गर्ने उद्योग सञ्चालकविरुद्ध मुद्दा दायर

जनकपुरधाम । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामले मानव स्वास्थ्यमा असर पर्ने तथा सरकारले तोकेको मापदण्ड विपरीत खाद्यपदार्थ उत्पादन र विक्री वितरण गर्ने विरुद्ध मुद्दा दायर गरिएको छ । उक्त कार्यमा संलगन उद्योग सञ्चालकमाथि मुद्दा दायर गरिएको छ ।

कार्यालयले उद्योगको नमुना जाँच गर्दा गुणस्तरहीन खाद्यपदार्थ उत्पादन गरेको जाँचको क्रममा फेला परेपछि गत आर्थिक वर्ष २०८०/८१ मा ती मुद्दा दायर गरेको हो ।

मधेश प्रदेशको आठ जिल्ला कार्यक्षेत्र रहेको सो कार्यालय अन्तर्गतका कार्यालयले विभिन्न उद्योगबाट उत्पादित सामग्रीको जाँच गर्दा गुणस्तरहीन खाद्यपदार्थ भेटिएपछि मुद्दा दायर गरिएको कार्यालयका खाद्य अनुसन्धान अधिकृत प्रवीण तिवारीले बताए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जलेश्वर, मलगङ्वा, वीरगञ्ज, जनकपुर तथा राजविराजस्थित डिभिजन कार्यालयले आ–आफ्ना सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् ।

अधिकृत तिवारीका अनुसार गत आर्थिक वर्षमा मधेश प्रदेशको आठ जिल्लाबाट तीन हजार पाँच सय ८७ खाद्यपदार्थको नमुना जाँच गर्दा ७४ वटा न्यून गुणस्तरीय पाइएका थिए ।

तीमध्ये ३१ वटाको मुद्दा दायर, १६ वटाको बयान सकिएको तथा अन्यको बयान लिन बाँकी रहेको छ । सो कार्यालयले उक्त अवधिमा खाद्य अनुज्ञा पत्र वितरण, नवीकरण र कारबाहीबापत २६ लाख ७७ हजार राजस्व सङ्कलन गरेको छ ।

कार्यालय अन्तर्गत मधेश प्रदेशमा चारवटा डिभिजन कार्यालय रहेका छन् । जनकपुरधामबाट बजारको अनुगमन तथा नमुना सङ्कलन कार्य भई खाद्यपदार्थको जाँच गर्ने र गराउने कार्य हुने गरेको प्रमुख तिवारीले बताए ।

दूध तथा दुग्ध पदार्थ, तेल र तेलहन पदार्थ, फल तथा सागपात, मसला, चिया, कफी, नुन, दाल, दलहन, प्रशोधित पिउने पानी, गुलियो पदार्थ, मासु, दाना लगायतका खाद्यपदार्थको नमुना जाँच गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *