चलचित्र ‘मिसिङ्ग : केटी हराएको सूचना’ को घोषणा

काठमाडौँ । नेपाली चलचित्रको परिवेश बदल्ने भिजन लिएर दुई दशकपछि नेपाल फर्किएका चर्चित निर्देशक दीपेन्द्र गौचनले नयाँ चलचित्र ‘मिसिङ्गः केटी हराएको सूचना’ घोषणा गरेका छन् ।

उजेलीः ए चाइल्ड ब्राइड इन नेपाल र विश्व फिल्म उद्योगमा योगदानका लागि प्रशंसित कामका लागि परिचित गौचनले आफ्नो नयाँ उद्यम ट्राइ–सिटी पिक्चर्सको साथ नेपाली चलचित्र क्षेत्रमा तरंग ल्याउन तयार भएका छन् ।

गौचन र नकिम उद्दिनले मिलेर स्थापना गरेको ट्राइ–सिटी पिक्चर्सले मनोरञ्जन मात्र नभई सामाजिक रूपमा प्रभाव पार्ने चलचित्र निर्माण गर्ने लक्ष्य राखेको छ ।

गौचनको सन २०२५ को भिजनमा नेपाली सिनेमालाई एक फस्टाउँदो, विश्वव्यापी रूपमा मान्यता प्राप्त उद्योगमा रूपान्तरण गर्ने समावेश छ । नेपालको तराई क्षेत्रको जीवन्त पृष्ठभूमिमा आधारित यस ब्यानर अन्तर्गतको पहिलो चलचित्र, मिसिङः केटी हराएको सूचना, यही दृष्टिकोणको प्रमाण हो ।

यस चलचित्रमा पहाडी समुदायका युवा र मधेसी समुदायकी युवतीको रहनसहन र मेलमिलापको बारेमा कथा कोरिएको छ । फिल्मले तराई क्षेत्रको सौन्दर्य र संस्कृतिको विरुद्धमा रहेको पहाडी–मधेसी मेलमिलापको खोजी गर्छ ।

यस चलचित्रका लेखक/निर्माता/निर्देशक दीपेन्द्र गौचनले चलचित्र मिसिङ्गको निर्माणका लागि पाएको प्रेरणाको बारेमा आफ्नो अनुभव साटेका छन् । ‘नेपाल फर्केर मैले धेरैजसो फिल्म पहाड र हिमाली क्षेत्रमा बनाइएको देखेँ । यी क्षेत्रहरू प्रतिष्ठित भए पनि म तराईको सौन्दर्य र यसको समृद्ध सांस्कृतिक विविधता देखाउन चाहन्थेँ,’ निर्देशक गौचनले भने, ‘यो फिल्म मेरो मनको नजिक छ किनभने यसले पारम्परिक र जातीय सिमानाहरू पार गर्ने, विविधताको बीचमा समानता खोज्ने कुराको प्रतिनिधित्व गर्दछ ।’

चलचित्रमा सीताको भूमिकामा सृष्टि श्रेष्ठ (जस्सीता/जेसी) रहेकी छन भने रामको भूमिकामा नाजिर हुसेन (रामबरन/र्याम्बो) रहेका छन् । त्यसैगरी विलासको भूमिकामा संजय मिश्रा तथा अमितेश शाह (क्यामियो) टिकट बिक्रेताको रोलमा रहेका छन् । यस बाहेक जनकपुरबाट थप स्थानीय कलाकारहरूले विभिन्न भूमिका निभाएका छन् ।

चलचित्रको कार्यकारी निर्मातामा नकिम उद्दीन, छायाङ्कनमा अमर महर्जन, सम्पादनमा निमेश श्रेष्ठ, कला निर्देशनमा अक्की थेक्पा, साउण्ड डिजाइनमा श्रावल आरपी, र म्युजिक कम्पोजरका रुपमा क्रिस मसन्ड रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *