एमाले र बालेनको डिजिटल वार,प्रधानमन्त्री भन्छन्-असत्यको आयु लामो हुँदैन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले आइतबार साँझ एउटा लामो स्टाटस लेखे । उनले नेकपा एमालेकी लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्माको तस्बीर सहित स्टाटस लेखेका हुन् ।

सांसद शर्माले विगत ८ वर्षदेखी एक बालिकालाई बन्दी बनाएर बाल शोषण गरेको बताउँदै प्रमुख शाहले स्टाटस लेखेका थिए । यति मात्रै होइन उनले अदालतले समेत पक्राउ गर्न भनिसकेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले संरक्षण गरेर नसमातेको भन्दै आक्रोश पोखे ।

उनले लेखेका थिए,‘उहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा, उहाँ ले विगत ८ वर्ष देखी बन्दी बनाएर, एक जना नाबालिकालाई घरेलु कामदार को नाममा हिंसा गर्दै आउनु भएको छ, दैनिक रूपमा कुटपिट गर्दै आउनु भएको छ । काठमाडौं महानगरले विगत २ महिना देखी कारबाही अगाडी बढाउनु भन्दा पनि यो सरकार ले समाएको छैन । अदालतले पनि मुद्दा चलाउ भनेर भनी सकेको छ । सम्माननिय प्रधानमन्त्री खड्ग प्रसाद ओली ज्यु ,सुशासन भनेको अदालतले नि समाउ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउन लाई भन्दछ । सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्यु पछि गोहिको आँसु चुहाएर फेसबुकमा समवेदना दिदै एक लाख घोषणा गर्नु नै होला । कहिले समाउने ? कि नसमाउने ?’

सांसद शर्माबारे लेखिएको बालेनको उक्त पोष्ट फेसबुकबाट हटेपछि यस बारेमा जानकारी दिँदै मंगलबार फेरी महानगर प्रमुख शाहले अर्को स्टाटस लखे ।

उनले एमाले सरकारले आफुले गरेको पोष्ट उडाइदिएको बताए । उनले फेसबुकमा लेखेका थिए,‘पोस्ट उडाउने हैन,दोषी समाऊ सरकार । म गलत हो भने मलाई समाऊ, हैन भने दोषी समाऊ ।’ फेसबुकमा रिपोर्ट गरेर बालेनको स्टाटस हटाइएको बताइन्छ ।

किन घट्दैछन् प्रधानमन्त्री ओलीका फलोअर्स ?

महानगर प्रमुख शाहको पछिल्लो स्टाटस आएपछि समर्थकहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको फलोअर्स घटाउने अभियान सुरु गरे । अर्थात् अनफलो गर्न थाले । मंगलबारदेखी सुरु भएको यो अभियान जारी छ ।

केपी शर्मा ओलीको फेसबुक पेजमा ६ लाख ६६ हजार फलोअर्स रहेकामा अहिले घटेर ५ लाख ८९ हजार रहेका छन् । यसरी हेर्दा साँझ ७:३० सम्म ७५ हजारले प्रधानमन्त्री ओलीको फेसबुक पेजलाई अनफलो गरेको देखिन्छ ।

असत्यको आयु लामो हुँदैन : प्रधानमन्त्री ओली

फलोअर्स घटेपछि प्रधानमन्त्री ओलीले असत्यको आयु लामो नहुने बताए । बुधवार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले सत्य बाहेक अरु केहीको पनि आयु लामो नहुने बताए ।

उनले एक छिनको प्रशंसामा खुसी र एक छिनको विरोधमा दुःखी हुनुपर्ने आवश्यकता नरहेको बताए । उनले लेखेका छन्,‘एकछिनको प्रशंसामा खुसी र एकछिनको विरोधमा दुःखी हुनुपर्ने आवश्यकता नै छैन । सत्य बाहेक अरु केहीको पनि आयु लामो हुँदैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *