एन्फा महिला लिगमा आर्मीको फराकिलो जित
काठमाडौं । विमला चौधरीको प्रेरणामा विभागीय टोली त्रिभूवन आर्मी क्लवले जारी एन्फा महिला लिगमा सुखद् सुरुवात गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधवार भएको खेलमा आर्मीले लिगमा डेब्यु गरेको संकटा फुटबल क्लवमाथि ४–० जित निकालेको हो । अधिकांश काठमाडौंमा फुटबल खेल्ने खेलाडी सम्मिलित बनेको संकटाविरुद्ध विभागीय टोली आर्मी पूर्ण हाबी भयो ।
खेलको २२ औं मिनेटमा आर्मीले सावित्रीदेवि मगरको गोलबाट शुरुमै अग्रता लियो । चन्द्रा भण्डारीले दिएको बललाई सावित्रीले करिव ६ यार्डनजिकबाट गोल गरेकी हुन् । त्यससँगै आर्मी छिट्टै १–० ले अगाडि रह्यो । दबाबमा बनाइरहेको आर्मीले एकििपछ अर्को अवसर बुन्यो । तर पहिलो हाफमा गोल भने निस्किएन ।
दोस्रो हाफमा पनि विभागीय टोलीले दबाब बनायो । ६० औं मिनेटमा विमला चौधरीले अर्को गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाइन् । चन्द्रा भण्डारीले संकटाका गोलकिपर र डिफेन्डरलाई बिट गर्दै दिएको पासमा विमलाले सहजै गोल गरिन् । ७१ औं मिनेटमा आर्मीले तेस्रो गोल गर्यो ।
विमले चौधरीको कर्नर प्रहारमा संकटाका डिफेन्डर सजक नहुँदा सीधै गोलमा परिणत भएको हो । विमलाको प्रहार अनुसा थेबेले रोक्न खोज्दा जाली चुम्यो । आर्मीले ७७ औं मिनेटमा टोलीको अग्रता ४–० मा पर्यायो ।
चन्द्रा भण्डारीको पासमा अनिता लम्जेलले करिव आठ यार्डबाट खाली पोस्टमा गोल गरिन् । यसअघि मंगलवार विभागीय टोली नेपाल पुलिस र एपिएफबीचको खेल गोलरहित बराबरीमा सकिँदा तेस्रो विभागीय टोलीले भने जित निकालेको छ ।