निर्मला पन्त बलात्कार र हत्या घटनाको अनुसन्धान जारी छ : गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या र बलात्कार घटनालाई आफूले गम्भीर रुपमा लिएको बताएका छन् ।
नेपाल प्रेस युनियन कञ्चनपुरले बिहीबार बिहान महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री लेखकले निर्मला पन्तको बलात्कार र हत्या घटनाको अनुसन्धान जारी रहेको बताए।
‘निर्मला प्रकरणको अनुसन्धान जारी छ । थप गम्भीरता र थप सूक्ष्म ढंगले अनुसन्धान गर्ने कुरा अगाडि बढाइन्छ,’ लेखकले भने, ‘म कसैलाई दोष दिने पक्षमा छैन । अहिले यस्तो भइसक्यो त्यस्तो भइसक्यो भनेर भन्न उचित हुँदैन जस्तो लाग्छ ।’
निर्मलाको न्यायिक आन्दोलनका क्रममा घाइते भएकाहरूलाई सरकारले सहयोग गर्ने उनले बताए।भीमदत्त नगरपालिका-२ की १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या भएको ६ वर्ष बितिसक्दा पनि अपराधी पक्राउ पर्न सकेका छैनन् । निर्मलाको न्यायिक आन्दोलनका क्रममा कांग्रेस नेता लेखक पनि सहभागी भएका थिए ।