तीज पर्व : शिवालयमा व्रतालुको घुइँचो (तस्बिरहरु)

काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज मनाइँदैछ । आजको दिन व्रतालुले शिव-पार्वतीको विशेष पूजा आराधना गर्दछन् । यसो गर्दा परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ ।

सत्य युगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकी कथा छ । त्यसैले आजको दिन निराहार व्रत बसेर विधिपूर्वक शिवपार्वतीको पूरा गरे मनोकामना पूरा हुने विश्वास छ । यही विश्वासका साथ व्रतालुहरुको आज बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायतका शिवालयहरुमा घुइँचो लागेको छ ।

अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरुले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने विधानसमेत छ । समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेको धर्मशास्त्रीहरुको मत छ ।

यो व्रत सक्नेले निराहार बस्ने भएकाले अघिल्लो दिन व्रतालुहरुले मीठा मीठा परिकार दरका रुपमा खाई आजको व्रतका लागि पूर्व तयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् ।

तीजको अवसरमा महिलाहरुले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई गीतका माध्यमबाट सार्वजनिक पनि गर्दछन् । उनीहरु भेला भएर नाचगान गर्दछन् ।

बिहीबार दर खाएपछि औपचारिक रुपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

  • तस्बिर : गोकर्णेश्वर महादेवमा आएको श्रद्धालुहरूका हुन् ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *