गणेश चतुर्थीमा बिघ्न सबै कामका बिघ्न हटाउने भगवान् गणेशको पूजा (तस्बिरहरु)

काठमाडौं । भाद्र शुक्ल चतुर्थी । सनातन धर्मावलम्बी शनिबार भगवान् गणेशको जन्मदिन मनाउँदै छन् । शिव र पार्वतीका पुत्रका रूपमा यो दिन गणेशजीको उत्पत्ति भएको पुराणमा उल्लेख छ ।

भगवान् गणेश सबै काममा बिघ्न हटाउने अर्थात् बिघ्नहर्ताका रूपमा पुजिन्छन् । हिन्दूधर्ममा गरिने सम्पूर्ण पूजाआराधनामा पहिले उनैको पूजा गरिन्छ । गणेशको पूजा नगरी वा उनलाई नसम्झी गरेका कार्यमा विघ्न पर्छ भन्ने विश्वास छ ।

सनातन समाजमा कुनै काम सुरु गर्दा ‘श्रीगणेश गरेको’ भन्ने चलन छ । ठूलो भुँडी भएकाले लम्बोदर, हात्तीको आकृतियुक्त मुहार भएकाले गजानन, विघ्न हटाउने भएकाले विघ्ननाशक, गणका पति भएकाले गणपति, सबै देवताका प्रिय भएकाले सुरप्रिय र विनायकजस्ता अनेकौँ नामले गणेश पुजिन्छन् ।

अन्य देवता जस्तै मानव आकृतिमा जन्मिएका गणेशलाई पिता शिवले कुनै वेला नचिनेर टाउको काटिदिएको र पछि हात्तीको टाउको जोडिएको प्रसंग पुराणमा आउँछ । अर्को कथाअनुसार जन्मिनेबित्तिकै शनिको दृष्टि पर्दा शिर गायब भएको र हात्तीको टाउको गाँसिएको उल्लेख छ ।

सूर्यविनायक, चन्द्रविनायक, जलविनायक, चारुविनायक, अशोकविनायक, मरुविनायक र कमलविनायक लगायत काठमाडौं उपत्यकाका गणेश मन्दिरमा बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ ।

तस्बिर : चन्द्र विनायक चाबहिलका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *