४०/५० करोडभन्दा माथिको भ्रष्टाचारमा ठूला दलहरूका बीचमा राष्ट्रिय सहमति हुन्छ : घनश्याम भुसाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले ४० करोड भन्दा माथिको भ्रष्टाचार मुद्दामा राष्ट्रिय सहमति हुने गरेको बताएका छन् ।

शनिवार हरि रोकाद्वारा लिखित पुस्तक ‘वैकल्पिक अर्थतन्त्र’ विमोचन र विमर्श कार्यक्रममा बोल्दै महासचिव भुसालले ४०/५० करोड रुपैयाँभन्दा माथिका कुनैपनि भ्रष्टाचारका मुद्दामा दलहरूका बीचमा राष्ट्रिय सहमति हुने बताएका हुन् ।

उनले ठूला भ्रष्टाचारहरू एमाले, माओवादी, एकीकृत समाजवादी लगायतका दलहरूको संलग्नता बिना नहुने बताए । उनले ठूला दलहरूका बीचमा राष्ट्रिय सहमति गरेर भ्रष्टाचार हुने गरेको भन्दै राजनीति, पार्टी र मुलुक नै सकिराखेका बताए । उनले राजनीतिक दल र दलका नेता भ्रष्टाचारमुक्त भएपछि मात्रै समाजवादतिर जान सकिने बताए । उनले घुस खाने मान्छे उत्पादन नगर्ने पार्टी निर्माण नगरेसम्म कृषिमा आत्मनिर्भर हुन नसकिने बताए ।

उनले भने ‘यसरी २५ वर्ष जतिमा जाँदाखेरी हामी मूलभूत रुपमा अलि समानतापूर्ण, अलि समानतापूर्ण अलि राष्ट्रिय जीवनमा । अहिलेको त राष्ट्रिय जीवन नै छैन भन्छु मैले । राष्ट्रिय जीवन नै बनेको छैन । हामी १०/१२ वर्षमा पुग्दाखेरि त्यस्तो राष्ट्रिय जीवन भएको मुलुकमा पुग्न सक्छौँ । त्यसपछि अरु ५० वर्षजति मेरो जिन्दगीमा मैले देख्दिनँ । सामान्यतया अब यो समाजवादी भयो है भन्ने बेलासम्म मेरो जिन्दगीमा मैले चाहिँ देख्दिनँ । त्यसमा एउटा मात्रै समस्या छ, आजैदेखि १५ वर्षमा हुन्छ ? हुँदैन । त्यो काम गर्नका लागि गर्ने कर्ता चाहिन्छ । पात्र चाहिन्छ । त्यो पात्र भनेको राजनीतिक पार्टी हो । त्यस्तो राजनीतिक पार्टी जो दलाल पुँजीवादबाट मूलभूत रुपमा मुक्त छ । मूलभूत रूपले दलाल पुँजीवादबाट मुक्त भएको त्यस्तो नेता होस् । त्यस्तो पार्टी होस् । त्यस्तो पार्टी होस् जसले, घुस खाने मान्छे उत्पादन नगर्ने पार्टी निर्माण नगरेसम्म यो होल कुरा, कृषिमा आत्मनिर्भर पनि भइँदैनन् । कृषिमै पनि आत्मनिर्भर हुने हो भने त्यस्तो पार्टी निर्माण गर्नुपर्छ जहाँ भित्रबाट भ्रष्टहरू जन्मिँदैनन् । भ्रष्टहरू पालित, पोषित हुँदैनन् । तिनीहरू संरक्षित हुँदैनन् । नेता बन्दैनन् । तर दुर्भाग्य के छ भने अहिले हरेकजसो पार्टी, ठ्याक्कै थाहा छैन मलाई ४०/५० करोडभन्दा ठूला कुनैपनि भ्रष्टाचारका मुद्दाहरूमा राष्ट्रिय सहमति हुन्छ । त्यहाँ काँग्रेस पनि हुन्छ । माओवादी पनि हुन्छ । एमाले पनि हुन्छ । मेरै पार्टी पनि होला । त्यो नभईकन अगाडी बढ्दै बढ्दैन । ठुलाहरूका बीचमा राष्ट्रिय सहमति गरेर तिनले पार्टी पनि सक्छन् । राजनीति पनि सक्छन् । र मुलुकपनि सकिराखेका छन् । त्यसो गर्दा हामी यहाँबाट मुक्त भएपछि बल्ल समाजवादतिर जान सकिएला भन्ने लाग्छ मलाई । यो कुरा निराशापूर्ण पनि सुनिन सक्छ । तर जतिसुकै निराशापूर्ण भएपनि तथ्य यही हो भन्ने लाग्छ ।’

महासचिव भुसालले नेपालमा लोकप्रियतावादले समाजवादलाई बिगारेको बताए । उनले समाजवादको भाष्यलाई सबैभन्दा बढी प्रधानमन्त्री केपी ओलीले बिगारेको आरोप लगाए । चुच्चे रेल र टावरहरूको कुरा गरेर प्रधानमन्त्री ओलीले समाजवादको भाष्य बिगारेको उनको भनाई छ ।

उनले भने – ‘अलिकति पपुलिज्मले पनि हाम्रो समाजवाद बिगा¥यो । यो व्यक्तिगत दोषारोपण जस्तो पनि सुनिन सक्छ, हाम्रो समाजवादको भाष्यलाई सबभन्दा बढ्ता त ओलीजीले नै बिगारिदिनुभयो । चुच्चे रेल आउँछ । काठमाडौंमा दुई वर्षमा आउँछ । अर्को वर्ष बेनी जान्छ, अर्को वर्ष कहाँ जान्छ भनेर चुच्चे रेलसँग, टावरहरू सँग, के सँग भाष्य बिगारिदिनु भयो उहाँले । प्रधानमन्त्री भनेको मुलुकको सबभन्दा ठूलो शिक्षक हो भन्छु । शिक्षकले ५०/६० जना पढाउँला तर प्रधानमन्त्रीले देशको लाखौँ मानिसहरूलाई एक साथ कक्षा लिन्छ भन्छु के । म मन्त्री हुँदा सुनेको, कसरी बिगारिदिनु भयो भाष्य भन्दाखेरि उहाँको मैले पटक–पटक सुनेको, रोपे फलिहाल्छ नि भन्नुहुन्थ्यो के । के रोप्ने हो ? कहाँ रोप्ने हो  ?कस्तो बिउ रोप्ने हो रु प्रविधि के हो ? पानी चाहिन्छ कि चाहिँदैन ? कति पाइन्छ ? अरु संरक्षण के गर्नुपर्छ ? बजार हुन्छ कि हुँदैन ? किसानले कति पाउँछ ? कर वा अन्तर्राष्ट्रिय सम्बन्ध यी सारा कुरा छोडिदिएर रोपे फल्छ नि । हाम्रो समाजवादको भाष्य यसरी पनि बिग्रियो ।’

उनले सरकारले दृढ संकल्प लिन सकेमा र सोही अनुसारको काम गर्न सकेमा ५ वर्षमा कृषि उपजमा आत्मनिर्भर हुन सकिने बताए । त्यस्तै १२ वर्षमा गरिबी र बेरोजगारीलाई हटाउन सकिने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *