सोलुवासीलाई रक्षामन्त्री राईले भने- फोन उठाउन भ्याउँदिन, नरिसाउनु होला

काठमाडौँ । रक्षामन्त्री मानवीर राईले आफूलाई फोन उठाएन भनेर आलोचना नगर्न आग्रह गरेका छन् ।

शनिवार आफ्नै जिल्ला सोलुखुम्बुको जिमी राई उत्थान समाजद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो आग्रह गरेका हुन् ।

कार्य व्यवस्थाले गर्दा फोन उठाउन नभ्याउने अवस्था भएकाले त्यसमा अन्यथा नठान्न मन्त्री राईले जिल्लावासीलाई पटक पटक आग्रह गरे । उनले बिहान बेलुका फुर्सद हुँदा आफूले फोन उठाउने र नभ्याए आफ्नो स्वकीयलाई सम्पर्क गरेर भएपनि आफूलाई जानकारी गराउन पनि उनले अनुरोध गरे ।

मन्त्री राईले कहिले काहीँ त राति अबेरसम्म मन्त्रीपरिषद् बैठक नै बस्नुपर्ने भएकाले आफूले सबै फोन उठाउने सम्भावना नरहेको पनि जानकारी दिए ।

मन्त्री राईले भने ‘मन्त्रीले त फोन उठाउन नभ्याउने रहेछ नि त । त्यो भएर कहिले काहीँ राति साँढे नौ बजेसम्म मन्त्रीपरिषद् बैठकमा नै हुन्छु । यो सत्य कुरा हो । पत्रकार साथीहरूलाई यो कुरा थाहा हुन्छ । हामी साँढे नौ बजेतिर प्रधानमन्त्री कार्यालयबाट निस्केको कुरा पत्रकार साथीहरूलाई थाहा हुन्छ । अनि मलाई नभेटी नहुने नभनी नहुने केही छ भने मेरो सचिवालयमार्फत तपाईँहरूको कुरा आओस् । बिहान बेलुका म फुर्सद हुँदा फोन उठाउँछु । उठेन भने बिजी रहेछ । उठाई दिएन भनेर अन्यथा नठानी दिनुहोस् । मलाई डर यति छ । सबै भन्दा सजिलो नेता सांसद बनाएको । सबै भन्दा सजिलो मान्छे मन्त्री बनाएको । सबभन्दा अप्ठ्यारो भयो । फोन पनि नउठाउने, भेट्न पनि नपाइने भयो भनेर नराम्रो सन्देश गाउँगाउँ जाला भन्ने मलाई ठूलो त्राही छ हजुर । तपाईँहरूले सहयोग गरिदिनु पर्यो ।’

मन्त्री राईले किरात संस्कृति नेपालको अनुकरणीय संस्कृति भएकाले त्यसको संरक्षणमा लाग्नुपर्नेमा पनि जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *