एमाले-माओवादी वाकयुद्धमा कमाण्डर नै अगाडि 

काठमाडौं । चर्चाको शिखरमै रहने नेपालको राजनीति यतिबेला एमाले-माओवादी वाकयुद्धले गर्माएको छ । नेता कार्यकर्ता तहमात्रै नभएर नेतृत्व नै एकअर्कालाई दोषारोपण र आरोपप्रत्यारोपमा उत्रिएको हो ।

तत्कालीन १० वर्षे ‘सशस्त्र युद्ध’को विषयलाई लिएर संसद्बाट सुरु भएको दुई दलको ‘वाकयुद्ध’ सार्वजनिक मञ्चमा समेत पोखिन थालेको छ । वाकयुद्ध नेताकार्यकर्तामा मात्रै सीमित रहेन । दुई दलका अध्यक्ष नै एकअर्काविरुद्ध खरो टिप्पणी गर्न थालेका छन् । एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डले एकअर्काविरुद्ध तल्लो स्तरका टिप्पणी गर्न थालेका हुन् ।

बिहीबार माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको अभिव्यक्तिको जवाफी फाइरिङ गरे, त्यो पनि उनकै शैलीमा । प्रचण्डले ‘राउण्ड किक कस्तो हुन्छ, ओलीलाई देखाइदिने’ चेतावनीयुक्त जवाफ दिए । यसअघि एमाले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले प्रचण्डलाई आफूले ‘राउण्ड किक हानेर लडाइदिएको’ अभिव्यक्ति दिएका थिए ।

उनको भनाई थियो, ‘प्रचण्डले छुरा तिखारेर बसेका थिए । तर, मैले एक राउण्ड किक दिएको हो । अहिले असन्तुलित भएर बोल्दै छन् ।’

प्रचण्डले अनेक नाममा धोकाको राजनीति गर्ने गरेको आरोप लगाए । ‘समाजवादी मोर्चाको प्रस्ताव प्रचण्डले गरेका थिए, तर मैले मानिनँ । किनकि त्यसको उद्देश्य सही थिएन’ ओलीको भनाइ थियो, ‘तपाईंहरू कतिपय अझै पनि वाम एकता भन्नुहुन्छ, सुन्दा प्रिय पनि लाग्छ । तर, त्यो मोर्चा धोकाको मोर्चा हो ।’

जवाफमा प्रचण्डले ‘अब जनताको राउण्ड किक कस्तो हुन्छ, ओलीले देख्ने’ भनेका छन् । प्रचण्डले प्रधानमन्त्रीमै बसेका नेताले ‘प्रचण्डलाई राउण्ड किक हानेको’ भनेर पनि बोलेको सुनेको भन्दै अगाडि भने, ‘अब जनताको राउण्ड किक कस्तो हुन्छ, तिनले देख्नेछन् ।’

प्रचण्डले शहीदकै बलिदानका कारण प्राप्त उपलब्धि उपभोग गरेर बलिदानपूर्ण संघर्षमाथि नै धावा बोल्ने छुट कसैलाई नभएको बताए । ‘जनयुद्धलाई संविधानले सशस्त्र संघर्ष भनेको छ तर, संविधानको व्याख्यात्मक टिप्पणीमा स्पष्टसँगै सशस्त्र संघर्ष भनेर माओवादी जनयुद्धलाई बुझाउने छ भनेर लेखिएको छ, त्यसमा सबै दलहरूले हस्ताक्षर गरेका छन् । तर, अहिले कतिपय सत्तारूढ दलका नेताहरूले जनयुद्धलाई हिंसा, हत्या, आतंक थियो भन्ने दुस्साहस गर्ने गरेका छन्,’ प्रचण्डले भने, ‘संविधानविपरीत बोल्ने नेताहरूको भण्डाफोर गर्नुपर्छ । संविधानमा भएको यथार्थलाई जोडदार रूपमा जनतामा लैजानुपर्छ ।’

ओलीले फेरि हिंसाको महिमा मण्डन नगर्न माओवादी केन्द्रलाई चेतावनी दिए । शनिबार काठमाडौंमा २१ औं निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा माओवादी युद्ध महान् थियो भने किन छोडेको, किन शान्ति प्रक्रियामा आएको भन्दै प्रश्न समेत गरे ।

प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो देशमा हिंसा थियो, त्यसलाई व्यवस्थापन गर्नुपर्‍यो। केही मानिसहरूले त्यसलाई महिमा मण्डन गरेको सुन्छु । त्यस्तो महान् थियो भने किन छोडेको त त्यो बाटो ? किन आउनुपर्‍यो शान्ति प्रक्रियामा ? त्यस्तो महान् जनयुद्धै थियो भने त सफल पार्नुपर्दथ्यो । जनयुद्ध भन्ने चिज जनयुद्ध हो भने त्यो फेल हुँदैन । जन आन्दोलन हो भनेपनि त्यो फेल हुँदैन । जन भइसकेपछि त्यो फेल हुँदैन । अब जनताका नाममा एक मुठी मान्छेले आफ्नो रहर, निर्देशित, प्रायोजित वा अरु प्रकारका रहरहरू लाद्न खोज्यो भने देशले त्यसलाई अस्वीकार गर्छ । बाटो बदल्नुपर्छ ।’

प्रचण्डले आइतबार बिहानै प्रतिक्रान्तिका हर्कतहरु भइरहेको उल्लेख गर्दै यसविरुद्ध फेरि एउटा सङ्घर्ष आवश्यक भएको जिकिर गरे । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित सहिदद्वय सुरेश वाग्ले ‘वासु’ र भीमसेन पोख्रेल ‘वैरागी’को २५ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै उनले जनताको बलिदान र अधिकारविरुद्ध भइरहेको प्रतिक्रान्तिका प्रयासका विरुद्ध सङ्घर्ष गर्नुपर्ने स्थिति आएको बताएका हुन् ।

क्रान्तिका उपलब्धिलाई उल्ट्याउन निकै कसर भइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिले क्रान्तिकै बलमा स्थापित व्यवस्थाको उपभोग गरेकाहरूले नै बढी क्रान्ति र क्रान्तिकारी आन्दोलनको अपमान गर्ने प्रयास गरिरहेको बताए । ‘हामीले गरेको परिवर्तनकारी र बलिदानपूर्ण जनयुद्धलाई संविधानमा जनताको सशस्त्र सङ्घर्ष र त्यसको व्याख्यात्मक टिप्पणीमा माओवादी जनयुद्ध भनेर लेखेका छौँ’ उनले भने, ‘तर, जसको मुख्य कारण देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र आयो, त्यही व्यवस्थामा बसेर जनयुद्धलाई नै अपमान गर्ने काम भइरहेको छ । त्यसका विरुद्ध सङ्घर्षको सङ्कल्प गर्नुको नै सहिदहरूप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।’

आफूहरू शान्ति प्रक्रियामा सहभागी हुनुअघि नै क्रान्ति भिन्न रूपमा जारी रहने बताएको स्मरण गर्दै अध्यक्ष प्रचण्डले भने, ‘हामीले जनयुद्धमा हुँदा र १२ बुँदे समझदारी गर्दा नै भनेका थियौँ– गणतन्त्र त अब आउँछ नै, तर यसलाई दलाल पुँजीपति र नोकरशाहीहरुले आफ्नो विशेषताको बुर्जुवा गणतन्त्र बनाउने प्रयास गर्नेछन् भने हामीले जनताको गणतन्त्र बनाउने कोसिस गर्नेछौँ । त्यहाँनेर गएर फेरि अर्को सङ्घर्ष हुन्छ भनेका थियौँ, अब राजनीतिक त्यतै जाँदै छ । दलाल पुँजीपति र नोकरशाहीहरुसँग सङ्घर्ष सुरु भएको छ । जनतालाई साथमा लिएर फेरि एउटा सङ्घर्ष अघि बढाउनैपर्छ ।’

उसो त, ओली-प्रचण्ड सम्बन्ध खासमा निकै रोचक छ । दुवैबीच समय र स्वार्थअनुसार निकै अस्थिर ‘लव हेट’को सम्बन्ध छ । तल्लो स्तरमा झरेर एकअर्काविरुद्ध ‘तुच्छ टिप्पणी’ गर्न पछि नपर्ने दुवै नेताबीच थुप्रैपटक मीठो सहकार्य पनि भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *