पर्सामा चर्काे आवाजका डिजे र लाउड स्पिकर बजाउन रोक
पर्सा । पर्सा प्रशासनले जिल्लाभित्र हुने विभिन्न राजनैतिक तथा धार्मिक–सांस्कृतिक कार्यक्रममा मानव स्वास्थ्यलाई असर पर्ने गरी चर्काे आवाजमा ‘डिजे स्पिकर’, ‘लाउड स्पिकर’ बजाउनको लागि रोक लगाएको छ ।
प्रशासनले अत्यधिक चर्काे स्वरमा बजाइने डिजे र लाउड स्पिकरलगायतले मानव स्वास्थ्यमा प्रत्यक्ष असर पारेको भन्दै नियन्त्रण गर्न लागेको हो ।
पर्साका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको भदौ २१ गते बसेको बैठकले सांस्कृतिक कार्यक्रम, चार्डपर्व, धार्मिक ¥याली, जुलुस, सम्मेलन, बैठक वा प्रचार प्रसारात्मक क्रियाकलाप गर्दा मानव स्वास्थ्यलाई नै असर पर्ने गरी डिजे, स्पिकर, लाउड स्पिकर ठूलो स्वरले बजाउने, आतिसवाजीहरू गर्ने जस्ता गतिविधिलाई नियन्त्रण गर्ने निर्णय गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार पर्सामा चर्काे आवाज र आतिसवाजी गर्ने जस्ता गतिविधि गर्नेलाई नियन्त्रणमा लिएर कारवाही गरिने बताएका छन् । उनले सो सूचनाको बर्खिलाप हुने गरी त्यस्ता कार्यहरु गरेमा कानुन बमोजिम कारवाही हुने बताए ।