सहकारी छानबिन समितिले अर्थमन्त्रीसँग गर्‍यो छलफल

काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलसँग छलफल गरेको छ ।

आईतवार समितिले अर्थमन्त्रीसहित योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी,राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेको हो ।

समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले संविधान र कानूनी व्यवस्थामा आधारित भएर समितिको प्रतिवेदनको अन्तिम रुप दिनेगरी सुझाव लिनको लागि अर्थमन्त्रीसहित योजना आयोगका उपाध्यक्ष र राष्ट्र बैंकका गभर्नरसँग छलफल गरेको बताए ।

उनले समितिमा उपप्रधान तथा अर्थमन्त्री पौडेलले नेपालको अर्थतन्त्र समाजवादउन्मुख मिश्रित रहेको भन्दै सार्वजनिक,निजी र सहकारीलाई संविधानमा व्यवस्थित गरिएको जानकारी दिनुभएको उल्लेख गरे ।

छरिएर रहेको पुँजी,सीप र श्रमशक्तिलाई सहकारीको माध्यमबाट परिचालन गरी राष्ट्रिय पुँजी निर्माण गरी उत्पादन बढाउन सहकारीको भूमिका रहेको उल्लेख गरेको बताए ।

सभापति थापाले अर्थमन्त्रीको भनाइ उद्धृत गर्दै मुलुकको जनसंख्याको ठूलो हिस्सा सहकारीमा आवद्ध रहेको र संविधान,कानून र संरचनाको कारणले नागरिकको सहकारीमा आकर्षण रहेको भन्दै पछिल्लो समय केही सहकारीले अपारदर्शी रुपमा रकम अपचलन र दुरुपयोग गर्दा समस्या उत्पन्न भएको उल्लेख गरेको बताए ।

सहकारी ऐनमा स्वनियमन व्यवस्थाले अपेक्षाकृत परिणाम नदिँदा सहकारीमा विकराल अवस्था आएको अर्थमन्त्रीको भनाई थियो । अर्थमन्त्रीले सहकारीको ऋण तिर्दिन भनेर अभियान चलाउने माथि सरकारले छुट नदिने उल्लेख गरेको पनि सभापति थाले बताए ।

त्यस्तै समितिमा राष्ट्रिय योजना आयोजका उपाध्यक्ष डा.अधिकारीले सहकारीको हिसावले भन्दा पनि निजी क्षेत्रका हिसावले चल्न खोज्दा समस्या भएको बताएको जानकारी दिए । त्यस्तै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारी क्षेत्रलाई दोस्रो नियमन निकाय बनाएर प्रभावकारी रुपमा हेर्नुपर्ने बताए ।

गभर्नर अधिकारीले सहकारी क्षेत्रलाई व्यवस्थित गर्ने लामो समयदेखि छलफल चले पनि अहिलेसम्म समाधान नभएको उल्लेख गरेको सभापति थापाले बताए ।

यसअघि समितिले सहकारीको रकम दुरुपयोगमा संलग्न भनिएका आरोपित, पीडित, सहकारी विज्ञ, गृहमन्त्री, प्रहरी प्रमुख लगायतसँग छलफल गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *