बालुवाटारमा ओली र देउवाबीच भेटवार्ता : के भयो कुराकानी ?
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका दुई शीर्ष नेताबिच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटवार्तामा सरकारका कामकारबाहीबारे छलफल भएको बताइएको छ ।
शीर्ष नेताको भेटवार्तामा सरकारले गरिरहेका कामकारबाहीलाई थप प्रभावकारी बनाउने उपायबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नेताहरुका अनुसार छलफलमा सत्ता गठबन्धनको बैठक बोलाउने तथा साझा न्यूनतम कार्यक्रमबारे समेत कुराकानी भएको बताइएको छ । सरकार बनेको दुई महिना भइसक्दा पनि न्यूनतम साझा कार्यक्रम ल्याइएको छैन ।
छलफलमा देउवा सहित गृहमन्त्री रमेश लेखक,परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, एमालेका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेल सहभागी थिए ।